January 8th, 2017

मर्जर र एक्विजिसन बिना नै आठ अर्ब चुक्तापुँजी पुर्याउँदै एभरेष्ट बैंक

एभरेष्ट बैंकले मर्जर तथा एक्विजिसन बिना नै आठ अर्ब चुक्तापुँजी पुर्याउने भएको छ । बैंकको शनिबार सम्पन्न २२ औँ वार्षिक साधारणसभामा प्रस्तावित बोनस, हकप्रद र चालु आर्थिक बर्षको कमाईबाट बोनस जारी गरेर पुँजी पुर्याउन सकिने बताइयो ।

साधारणसभाले ७० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पुस ५ गतेसम्म कायम एभरेष्ट बैंकका सेयरधनीले उक्त बोनस सेयर पाउनेछन् । साथमा बोनस सेयर जारी गरेपछि कायम हुने चुक्तापुँजीबाट तीन बराबर एक कित्ताको अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रक्रिया अघि बढाउन अनुमति माग्ने प्रस्ताव पनि साधारणसभाबाट पारित भएको छ । त्यस्तै, साधारणसभाले सुनिल गोल श्रेष्ठ र नबिनभक्त श्रेष्ठलाई सर्बसाधारण सेयरधनीको तर्फबाट फेरि संचालक चुनेको छ ।

हाल एभरेष्ट बैंकको चुक्तापुँजी २ अर्ब ६६ करोड रुपैंया चुक्तापुँजी छ । ७० प्रतिशत बोनस सेयर वितरण गरेपछि बैंकको चुक्तापुँजी ४ अर्ब ५२ करोड रुपैंया नाघ्नेछ । बोनस बितरण पश्चात कायम हुने पुँजीबाट तीन बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी छ अर्ब तीन करोड रुपैयाँको हाराहारीमा पुग्नेछ । बाँकी पुँजी चालू आर्थिक वर्षको कमाईबाट बोनस सेयर जारी गरेर पुर्याउने योजना बैंकको छ ।