Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

६ महिनामा राष्ट्र बैंकद्वारा ३ अर्ब ४७ करोड डलर खरिद

२०८२ फाल्गुन ५ गते

बैंकिङ खबर / चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नेपाल राष्ट्र बैंकले विदेशी विनिमय बजारमा सक्रिय हस्तक्षेप गरेको देखिएको छ। यस अवधिमा राष्ट्र बैंकले वाणिज्य बैंकहरूबाट ३ अर्ब ४७ करोड अमेरिकी डलर खुद खरिद गरेको छ। उक्त डलर खरिदबापत केन्द्रिय बैंकले बजारमा ४ खर्ब ९३ अर्ब ४ करोड रुपैयाँ बराबरको तरलता प्रवाह गरेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा भने २ अर्ब ५२ करोड अमेरिकी डलर मात्र खरिद गरिएको थियो, जसका लागि ३ खर्ब ४० अर्ब ६ करोड रुपैयाँ बजारमा प्रवाह गरिएको थियो। तुलना गर्दा यस वर्ष डलर खरिद र बजारमा पठाइएको रकम दुवै उल्लेखनीय रूपमा बढेको देखिन्छ। रेमिट्यान्स लगायतका स्रोतबाट विदेशी मुद्रा आपूर्ति बढेकाले डलर खरिदमा वृद्धि भएको आकलन गरिएको छ।

राष्ट्र बैंकले समीक्षा अवधिमा २ अर्ब ६ करोड अमेरिकी डलर बिक्री गरी २ खर्ब ९२ अर्ब ९१ करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा १ अर्ब ९० करोड अमेरिकी डलर बिक्री गरी २ खर्ब ५६ अर्ब ५१ करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद गरिएको थियो।

समग्रमा हेर्दा, राष्ट्र बैंकले डलर तथा भारतीय रुपैयाँ व्यवस्थापनमा अघिल्लो वर्षभन्दा बढी कारोबार गरेको देखिन्छ। केन्द्रिय बैंकका अनुसार यसले विनिमय दर स्थिरता कायम राख्न र विदेशी मुद्रा सञ्चिति सन्तुलित राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।