२०८२ फाल्गुन ४ गते

तीन ठूला वाणिज्य बैंक कारबाहीमा, अध्यक्ष–सीईओसम्म तानिए।

बैंकिङ खबर / नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा तीन वटा वाणिज्य बैंकलाई नियामकीय निर्देशिका उल्लंघन गरेको भन्दै कारबाही गरेको छ। कारबाहीमा परेका बैंक हुन् : एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक।

राष्ट्र बैंकको निर्देशन बारम्बार उल्लंघन गर्दै वित्तीय विवरण प्रकाशन गर्दै आएको र उक्त बैंकलाई जारी गरिएको लिखित आदेशको समेत पालना नभएको पाइयो,’ राष्ट्र बैंकले कारवाही गर्दै भनेको छ, ‘उक्त बैंकका तत्कालीन सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवाल र तत्कालीन प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोश्रो संशोधन २०७३ सहित) को दफा १०० उपदफा २(ग) बमोजिम दुई/दुई लाख नगद जरिवाना गराइएको छ।’

ग्लोबल आइएमई बैंकको स्थलगत निरीक्षण प्रतिवेदन, २०८२ को आधारमा देखिएको कैफियतका सम्बन्धमा बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ। ग्लोबल आईएमई बैंकले एकीकृत निर्देशिकको निर्देशन नं. २/०८१ को व्यवस्था अनुसार पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको पाइएको राष्ट्र बैंकले जनाएको छ। बैंकले भाखा नाघेको कर्जालाई भाखा नाघेको अवधिको आधारमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको र कर्जाको पुनरतालिकीकरण र पुनरसंरचना सम्बन्धी व्यवस्था पूर्ण रुपमा पालना नगरेको पाइएको हो। त्यस्तै बैंकको स्थलगत निरीक्षणका क्रममा कोर बैंकिङ सफ्टवेयरमा चुक्ता भइसकेको कर्जालाई पुरानै भ्यालु डेट राखी पुनः सिर्जना गर्न सक्ने अवस्था रहेको पाइएकोले कारवाही गरेको राष्ट्र बैंकले जनाएको छ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले राष्ट्र बैंकबाट जारी निर्देशन नं. २/०८१ को बुँदा नं. ३ (ज) को पूर्ण अनुपालना नगरी कर्जाको सुरक्षण नहुने किसिमले कर्जासँग सम्बन्धित कागजातहरुमा ग्राहकको सहिछाप नगराई तथा सुरक्षणले खामेकोभन्दा बढी कर्जा प्रवाह गरेको पाइएको राष्ट्र बैंकले उल्लेख गरेको छ। त्यस्तै बैंकले निर्देशन नं. १५/०८१ को बुँदा नं. ३ (७) को पूर्ण अनुपालना नगरी एउटै प्रकृतिका कर्जाहरुको ब्याजदर अन्तर २ प्रतिशत बिन्दुभन्दा बढीले कायम गरेको पाइएको हो। बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ बुँदा नं. ८.५ र १०.१२ को पूर्ण अनुपालना नगरी त्रैमासको अन्तिम महिनाहरुमा नयाँ अल्पकालीन कर्जाहरु प्रवाह गरेको र उक्त कर्जाहरुलाई कर्जा असुलीमा प्रयोग गरेको पाइएको राष्ट्र बैंकले जनाएको छ। सोहीकारण राष्ट्र बैंकले बैंकको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० उपदफा २ को खण्ड (क) बमोजिम सचेत गराइएको हो।