
बैंकिङ खबर / गत पुस २९ गते सिन्धुलीको घ्याङ्लेख गाउँपालिका-२ हायुटारस्थित नेपाल एसबीआई बैंक घ्याङ्लेख शाखामा भएको लुटपाट प्रकरणमा संलग्न ६ जनालाई अदालतको आदेशमा पूर्वपक्षका लागि कारागार चलान गरिएको छ।
प्रहरीका अनुसार सिन्धुलीका छविलाल स्याङतान र ज्ञानबहादुर भ्लोन तामाङ, चितवनका शशांक श्रेष्ठ, नुवाकोटका विवेक मगर र मिलन गिरीलाई पुर्पक्षका लागि कारागार कार्यालय सिन्धुली पठाइएको हो। यसै प्रकरणमा संलग्न एक नाबालकलाई भने मुद्दा पुर्पक्षका लागि बालसुधार गृहमा राख्न पठाइएको जिल्ला प्रहरीले जनाएको छ।
अनुसन्धानअनुसार ५-६ जनाको समूहमा आएका अभियुक्तहरूले बैंकमा प्रवेश गरी सुरक्षा गार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएका थिए। घटनाका क्रममा खुकुरी प्रहारबाट सुरक्षागार्ड सामान्य घाइते भएका थिए। त्यसपछि उनीहरूले भल्ट खोली नगद रकम लिएर फरार भएको खुलेको छ।
अभियुक्तहरूले बैंकबाट ३ करोड ७ लाख रुपैयाँ लुटेको आरोप लागेको छ। तीमध्ये २ करोड ६८ लाख ५५ हजार १७५ रुपैयाँ बरामद भइसकेको प्रहरीको भनाइ छ। सिन्धुली जिल्ला अदालतको माघ २७ गतेको आदेशअनुसार उनीहरूलाई कारागार तथा बालसुधार गृहमा पठाइएको हो।


