Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

चालु आर्थिक वर्षमा ८५.९६ प्रतिशत मात्र बजेट खर्च हुने।

admin २०८२ माघ २७ गते
सेयर:

बैंकिङ खबर / अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ मा कार्यान्वयन भइरहेको बजेटमध्ये करिब ८५.९६ प्रतिशत मात्र खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेको छ। मंगलबार अर्थमन्त्री रामेश्वर खनालले बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै कुल बजेट खर्च अनुमान घटाइएको जानकारी दिएका हुन्।

सरकारले चालु आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट कार्यान्वयनमा ल्याएको छ। आर्थिक वर्षको अन्त्यसम्म १६ खर्ब ८८ अर्ब ३२ करोड रुपैयाँ मात्र खर्च हुने संशोधित अनुमान अर्थ मन्त्रालयले गरेको छ, जुन कुल विनियोजनको ८५.९६ प्रतिशत हो।

संशोधित अनुमानअनुसार चालु खर्चतर्फ ११ खर्ब २५ अर्ब ९७ करोड रुपैयाँ खर्च हुने प्रक्षेपण गरिएको छ। यस्तै, पूँजीगत खर्च २ खर्ब ४३ अर्ब ३० करोड रुपैयाँमा सीमित रहने देखिएको छ भने वित्तीय व्यवस्थातर्फ ३ खर्ब १९ अर्ब ४ करोड रुपैयाँ बराबर खर्च हुने अनुमान गरिएको छ।

यस वर्षको सुरुमा सरकारले चालु खर्चका लागि ११ खर्ब ८० अर्ब, पूँजीगत खर्चका लागि ४ खर्ब ७ अर्ब र वित्तीय व्यवस्थाका लागि ३ खर्ब ७५ अर्ब रुपैयाँ विनियोजन गरेको थियो। तर पुस मसान्तसम्म आइपुग्दा चालु खर्च लक्ष्यको ४१.२५ प्रतिशत मात्र खर्च भएको छ। पूँजीगत खर्च अझै कमजोर रहँदै १२.१२ प्रतिशतमा सीमित भएको छ भने वित्तीय व्यवस्थातर्फ ४०.९५ प्रतिशत खर्च भएको छ।

बजेट कार्यान्वयन अपेक्षाअनुसार अघि नबढ्दा चालु आर्थिक वर्षको आर्थिक वृद्धि लक्ष्यसमेत संशोधन गरिएको छ। सुरुमा ६ प्रतिशत रहने अनुमान गरिएको आर्थिक वृद्धिदर अब ३.५ प्रतिशतमा सीमित रहने अर्थ मन्त्रालयको प्रक्षेपण छ।

 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।