Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सुपर खुदी हाइड्रोपावर लिमिटेडले फागुन ४ गतेदेखि आइपिओ बिक्री गर्ने।

२०८२ माघ २५ गते

बैंकिङ खबर / सुपर खुदी हाइड्रोपावर लिमिटेडले फागुन ४ गतेदेखि सर्वसाधारण लगानीकर्ताहरूका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री गर्ने भएको छ। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको आइपिओ निष्कासन गरी बाँडफाँट गरेपछि अब  सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गर्न लागिएको हो।

कम्पनीको जारी पुँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता सेयर आइपिओमार्फत निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। अनुमति प्राप्त सेयरमध्ये १५ लाख ५० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, १ लाख ५५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली र ७७ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरूका लागि निष्कासन गरी बाँडफाँट भइसकेको छ।

दोस्रो चरणमा कम्पनीले कर्मचारीहरूका लागि ३१ हजार कित्ता सेयर छुट्याएको छ। बाँकी रहेको १२ करोड ८६ लाख ५० हजार रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यका १२ लाख ८६ हजार ५०० कित्ता सेयर निष्कासन गर्न लागेको हो। आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन दिने अन्तिम म्याद फागुन १० गते तोकिएको छ। तोकिएको अवधिभित्र सम्पूर्ण सेयरमा आवेदन नपरेमा बिक्री अवधि फागुन १९ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ।

कम्पनीलाई केयर रेटिङ नेपालले CARE-NP BB (Issuer Rating) प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूबाट (C-ASBA) प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।