Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

वित्तीय समावेशीकरण सूचकाङ्कमा प्रगति : नेपाल राष्ट्र बैंक

admin २०८२ माघ १९ गते
सेयर:

बैंकिङ खबर / नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय समावेशीकरण सूचकाङ्कअनुसार आर्थिक वर्ष २०२४/२५ मा नेपालमा वित्तीय सेवामा पहुँच, प्रयोग र गुणस्तरमा उल्लेखनीय सुधार भएको छ। समग्र वित्तीय समावेशीकरण सूचकाङ्क  ०.४७ बाट बढेर ०.५३ पुगेको राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाद्वारा प्रकाशित प्रतिवेदनमा उल्लेख छ।

रिपोर्टअनुसार पहुँच सूचकाङ्क ०.५३ पुगेको छ, जसले देशभर वित्तीय संस्था, सेवा केन्द्र तथा डिजिटल वित्तीय सेवा माध्यमको विस्तार भएको संकेत गर्छ। त्यसैगरी, प्रयोग सूचकाङ्क ०.५४ रहेको छ, यसले बैंकिङ, डिजिटल भुक्तानी, बिमा तथा अन्य वित्तीय सेवामा व्यक्ति र घरपरिवारको सहभागिता बढेको देखाउँछ। गुणस्तर सूचकाङ्क भने ०.५० मा पुगेको छ।

वित्तीय साक्षरतामा आएको वृद्धि, उपभोक्ता संरक्षण संयन्त्रको सुदृढीकरण, पारदर्शिताको अभिवृद्धि तथा ग्राहक अनुभवमा भएको सुधारका कारण गुणस्तर सूचकाङ्कमा उल्लेखनीय प्रगति भएको राष्ट्र बैंकले जनाएको छ। नीतिगत पहल, डिजिटल वित्तीय नवप्रवर्तन तथा नियामक सुधारले सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै आगामी दिनमा डिजिटल पूर्वाधार सुदृढीकरण, वित्तीय साक्षरताको प्रवर्द्धन तथा उपभोक्ता केन्द्रित वित्तीय सेवामा निरन्तर जोड दिन आवश्यक रहेको राष्ट्र बैंकको भनाइ छ।

राष्ट्र बैंकका अनुसार वित्तीय सेवामा पहुँच विस्तार, डिजिटल माध्यमको बढ्दो प्रयोग तथा सेवा गुणस्तरमा आएको सुधारका कारण वित्तीय समावेशीकरण सूचकाङ्कमा स्थिर र व्यापक प्रगति भएको छ।

प्रतिवेदनमा मानव विकास सूचकाङ्कजस्तै विधिबाट गणना गरिएको उक्त सूचकाङ्क ० देखि १ सम्मको मापनमा आधारित रहेको उल्लेख छ, जहाँ उच्च अङ्कले उच्च वित्तीय समावेशीकरणलाई जनाउँछ। पहुँच, प्रयोग र गुणस्तर गरी तीन आयामअन्तर्गतका ५५ वटा सूचकका आधारमा सूचकाङ्क तयार गरिएको हो।

 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।