बैंकिङ खबर/ नेपाल विद्युत प्राधिकरणले ठूला जलविद्युत आयोजना निर्माणका लागि २० अर्ब रुपैयाँ बराबरको ऊर्जा ऋणपत्र (बण्ड) जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ। अर्थ मन्त्रालय हुँदै मन्त्रिपरिषद्बाट चरणबद्ध रूपमा बण्ड निष्काशन गर्न स्वीकृति पाएसँगै प्राधिकरणले नियामक प्रक्रिया सुरु गरिसकेको हो।
प्राधिकरणका अनुसार बण्ड निष्काशनसम्बन्धी संस्थागत विवरण नेपाल धितोपत्र बोर्ड (सेबोन)मा पेश भइसकेको छ र आवश्यक प्रक्रिया पूरा भए फागुनभित्रै बण्ड जारी गर्ने लक्ष्य राखिएको छ। १० वर्षे अवधिको यस ऋणपत्रमा वार्षिक ५.५ प्रतिशत ब्याजदर प्रदान गरिनेछ, जुन बजार सर्वेक्षणका आधारमा व्यावहारिक रहेको प्राधिकरणको दाबी छ।
बण्डमार्फत संकलन हुने रकम अपर अरुण, तामाकोशी–५, चैनपुर सेती र मोदी जस्ता ठूला जलविद्युत आयोजनामा लगानी गरिनेछ। आयोजना निर्माणमा लगानी अभाव नहोस् भन्ने उद्देश्यले सरकारले ऋणपत्रमार्फत स्रोत जुटाउन अनुमति दिएको हो। साथै, प्राधिकरणले केही रकम अन्य आयोजनामा अस्थायी रूपमा प्रयोग गर्ने अनुमति पनि अर्थ मन्त्रालयसँग माग गरेको जनाएको छ।
उक्त बण्डमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, म्युचुअल फण्ड तथा नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषजस्ता संस्थागत लगानीकर्ताले लगानी गर्न सक्नेछन्।
यसैबीच, नेपाल विद्युत प्राधिकरणको बहुप्रतीक्षित आईपीओ निष्काशन प्रक्रिया भने हालका लागि रोकिएको छ। अर्थ मन्त्रालयले सरकारी लगानी व्यवस्थापनसम्बन्धी नयाँ कार्यविधि, सम्पत्ति–दायित्व यकिनका लागि ड्यु डेलिजेन्स अडिट र प्राधिकरणको संरचना ९टुक्र्याउने वा नटुक्र्याउने० सम्बन्धी स्पष्ट निर्णयपछि मात्र आईपीओ अघि बढाउनुपर्ने शर्त राखेपछि प्रक्रिया स्थगित भएको हो।
प्राधिकरणको दीर्घकालीन लक्ष्य भने पूँजी बजारमार्फत ठूलो रकम जुटाई जलविद्युत क्षेत्रमा लगानी विस्तार गर्नु नै रहेको बताइएको छ।