२०८२ माघ ८ गते

२०१८ सालमा ३ लाख मेट्रिकटन चामल निर्यात, गत ६ महिनामा भित्रियो २० अर्बको चामल !

बैंकिङ खबर / नेपालको अर्थतन्त्र पुरै आयातमुखी बनेको छ । देशभित्रै उत्पादन सम्भव देखिएको र कुनै समय निर्यात समेत हुने गरेको धान चामल आयातमा अहिले अर्बौ विदेशीने गरेको एक तथ्याङकले देखाएको छ । मुलुकभित्र उत्पादन बढाउने सरकारी नीति भए पनि खाद्यान्नमा देश परनिर्भर बन्दै गएको छ । चालु आर्थिक बर्षको ६ महिनामा नेपालमा चामल मात्रै करिब साढे २० अर्ब रुपैयाँ बराबरको आयात भएको छ । कुनै समय नेपालबाट निर्यात हुने गरेको चामल पछिल्लो समयमा निरन्तर बढ्दो रुपमा आयात हुँदै गएको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकलाई हेर्दा ६ महिनामा नेपालले २० अर्ब ३८ करोड ६५ लाख रुपैयाँ बराबरको धानचामल आयात गरिएको छ । विभागका अनुसार अघिल्लो बर्षको सोही अवधिमा भन्दा यो बर्ष १ अर्ब २८ करोड रुपैयाँ बढीको चामल आयात भएको छ ।
चालु आवको पुससम्म ४ अर्ब २७ करोड १२ लाखको बासमती चामल मात्रै आयात भएको छ । यसबाहेक अर्ध–पालिस वा पूर्ण पालिस गरिएका अरु चामल पनि आयात भएको छ । प्रशोधित चामलसँगै विदेशबाट धान पनि आयात भएको छ । ६ महिनामा ९ अर्ब ८७ करोड ९ लाख रुपैयाँको धान आयात भएको छ । बिउका लागि प्रयोग हुने धान २२ लाख ८३ हजार रुपैयाँको आयात भएको तथ्याङकले देखाएको छ । तथ्यांक अनुसार आयात मूल्य बढे पनि सरकारले संकलन गर्ने राजस्वमा भने गिरावट आएको छ ।जसमा सरकारले १ अर्ब ४४ करोड २६ लाख राजश्व संकलन गरेको छ गत वर्ष धानचामल आयातबाट १ अर्ब ७६ करोड ८७ लाख बराबर राजस्व संकलन भएको थियो ।

कठै त्यो गर्भिलो इतिहास

करिव ४० बर्ष अगाडि नेपालबाट विभिन्न देशमा धान चामलको निर्यात हुने गरेको तथ्याङकले देखाउँछ । जुन समयमा धान उत्पादनमा नेपाल निकै अब्बल मानिन्थ्यो । दक्षिण एसियाली देशमा मात्रै होइन दक्षिण कोरिया, मलेसियादेखि अमेरिकासम्म नेपाली चामल निर्यात हुने गरेको अभिलेख छ । २०४६ साल पछिको उदार अर्थनीतिपछि विदेशबाट प्रत्येक वर्ष धान चामल आयात बढ्दै गएको हो । विस २०१८ सालमा धान उत्पादन र व्यापारको गर्विलो इतिहास पाइन्छ । त्यसबेला सबैभन्दा धेरै धान निर्यात भएको पाइन्छ । २०१८ मा २ लाख ८९ हजार मेट्रिक टन चामल निर्यात भएको इतिहासले देखाउँछ । पछिल्लो समय २०४२ सालमा नेपालले १ करोड ३० लाख अमेरिकी डलर बराबरको ५९ हजार मेट्रिक टन चामल निर्यात गरेको थियो । तर २०४७ सालयता त्यो विरासत इतिहासमा मात्र सीमित रहेको छ ।

नेपालमा वार्षिक चामल खपत लगभग ४८ लाख टन छ, जसमा ३० लाख टन भातका लागि चाहिन्छ। अन्य उत्पादन चिउरा, चामलको पीठोबाट बन्ने परिकारका लागि पनि चामल आवश्यक पर्छ। नेपालमा प्रति व्यक्ति प्रति वर्ष लगभग १३७ किलो चामल खपत हुन्छ, जुन औसतभन्दा १६ किलो बढी हो