
बैंकिङ खबर/ अर्थमन्त्री रामेश्वर खनालले लगानीमैत्री वातावरण निर्माण गर्न आफूहरू तयार रहेको बताएका छन् । अर्थ मन्त्री खनालले वर्तमान सरकार गठन भएलगत्तै निजी क्षेत्रको समस्या समाधान गर्न प्राथमिकता दिएको पनि बताए । निजी क्षेत्रमाथि हुने कुनै पनि प्रकारका आक्रमण वा क्षति भविष्यमा नदोहोरिने वातावरण बनाउन सरकार सचेत भएको उनको भनाई छ । बुधबार नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको “शान्ति, स्थायित्व र समृद्धिका लागि सामूहिक पहल“ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले पछिल्लो समय न्यून मूल्यवृद्धि, न्यून ब्याजदर, पर्याप्त तरलता र उच्च विदेशी मुद्रा सञ्चिति जस्ता आर्थिक सूचकहरू सकारात्मक रहेको पनि बताए । सकारात्मक सूचकका बाबजुद लगानीको दर बढ्न नसक्नु चुनौतीपूर्ण रहेको भन्दै उनले निजी क्षेत्रले सिर्जना गरेको सम्पत्ति राष्ट्रकै सम्पत्ति भएको बताए । उनले नीजि क्षेत्रकै नाफाबाट सरकारले राजस्व पाउने भन्दै निजी क्षेत्रको विकास नै देशको विकास भएको उल्लेख गरे ।