२०८२ पुष ११ गते

प्रभु बैंकका सीईओ अशोक शेरचन रिहा, अनुसन्धान बाहिरै राखेर जारी!

बैंकिङ खबर/ प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन रिहा भएका छन्। तीनवटा मुद्दामा म्याद थपका लागि लगिए पनि विशेष सरकारी वकिलको कार्यालयले छाड्ने आदेश दिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ। शेरचनलाई बाहिरै राखेर अनुसन्धान जारी रहने सीआईबीले स्पष्ट पारेको छ।

स्वास्थ्य समस्या देखिएपछि शेरचन हाल चीरायू अस्पतालमा उपचाररत छन्। उनलाई मंसिर १४ गते बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको थियो।

प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचन र व्यवसायिक साझेदार कुसुम लामाबीचको लेनदेन विवाद चर्किँदा प्रभु बैंक र सीईओ शेरचन अनुसन्धानको दायरामा तानिएका हुन्। प्रभु म्यानेजमेन्टले रेमिट्यान्स कारोबारका लागि सहकारीबाट लिएको धरौटी रकम अपचलन गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ।