२०८२ कार्तिक ३० गते

क्या रोचक छ बैंकिङ इतिहास : त्यो बस्तु विनीमय ! अनि यो डिजिटल बैंकिङ

बैंकिङ खबर / ईतिहासका पाना पल्टाउँदै जाने हो भने समय अन्तरालमा मानिसले गरेको विनिमयहरु निकै रोचक पनि लाग्छन् । आजका दिनसम्म आईपुग्दा मानिसहरुले धेरै थरीका विनियमय गरेको भेट्न सकिन्छ । लामो समयको घुमन्ते र जंगली तथा झुण्डमा जीवन व्यतित गरेको नेपाली समाजले त्यसबखत विनिमय भन्ने कुनै अवधारणा अवलम्बन गरेको थिएन । यद्यपी समयकाल बित्दै जाँदा जब खेतिपाती गर्ने यूगमा मानवको प्रवेश भयो, तब क्रमिक रुपमा श्रम विभाजन हुन थाल्यो । विस्तारै मानिसहरुले आफ्ना आवश्यकता पुरा गर्नको लागि वस्तु विनिमय अर्थात् आ–आफ्ना सामान एकअर्कासँग साटासाट गरी आफ्ना आवश्यकता पूर्ति गर्न थाले । त्यससमयमा पैसाको चलनचल्ती नै थिएन । 

वस्तु विनिमय 
आफूसँग भएको वस्तु दिएर आफूलाई आवश्यक पर्ने वस्तु साटासाट गर्नु नै वस्तु विनिमय हो । मुद्राको उत्पत्ति विकास र प्रयोग हुनुभन्दा पहिले कुनै वस्तु प्राप्त गर्न आफूसँग भएको वस्तुसँग चाहेको वस्तु साट्नुपर्ने चलन थियो । अर्थात् वस्तुसँग वस्तु साटासाट गर्नुपर्ने चलन थियो । वस्तु–विनिमय गर्दा अनेकौँ किसीमका कठिनाईहरु झेल्नुपर्ने स्थिती थियो । गहुँ उत्पादन गरेको व्यक्तिलाई धान चाहिएको अवस्थामा आजको युगमा जस्तो किनबेच गर्ने परिपाटि थिएन । गहुँ उत्पादन गरेको व्यक्तिलाई धान चाहिएको अवस्था आयो भने कुनै अर्को व्यक्तिलाई गहुँ चाहिएको छ, तर उसँग धान मात्रै छ भने, मात्रै उनिहरुबिच वस्तु विनीमय सम्भव थियो । यस्तो स्थितिमा गहुँ साट्ने व्यक्तिले धान साट्न चाहेको व्यक्ति भेट्टाउन निकै मुस्किल हुन्थ्यो । अर्थात् वस्तु साटासाट हुनका लागि दुवैथरि एक अर्कासँग भएको वस्तु साटासाट गर्न इच्छुक हुनुपर्ने बाध्यता थियो । यो एउटा उदाहरण मात्रै हो । तपाई परिकल्पना गर्नुहोस् त भैसीपालन छोडेर बाख्रापालन गर्न चाहनेले कती सास्ती खेप्नुपथ्र्यो होेला रु यद्यपी समयको लामो कालखण्ड पछि वस्तु विनिमयका यावत् समस्याहरु मुद्राको प्रतिपादनले क्रमिक रुपमा हटाउँदै लग्यो । 

सिक्का तथा मुद्राको विकास, कौडि विनिमयको पहिलो अभ्यास 

विनिमयको पहिलो अभ्यासका रुपमा कौडीलाई लिईन्छ । स्थानिय व्यापार विनिमयको साधनको रुपमा मानिसहरु माझ एकताका कौडि निकै नै लोकप्रिय थियो । विस्तारै मानिसहरुले धातु, सुन, चाँदी, तामा, पित्तललाई विनिमयका सूविधाजनक माध्यम बनाउन थाले । त्यसपछि क्रमिक रुपमा मूद्राको महत्व बढ्न थाल्यो । आजसम्ममा प्राप्त नेपाली मूद्राहरुमा ईस्वी पाचौं शताब्दीका राजा मानदेवले चलाएको ‘मानाङ्क’ मुद्रा नै सबैभन्दा प्राचिन मुद्रा हो ।

मुद्रा : कारोबारमा सरलता 

वस्तु विनिमयबाट कौडिमा रुपान्तरण भएको कारोबार विस्तारै मुद्राको युगको सुरुवातमा पुग्यो ।  मुद्राको कारोबारले मानव सभ्यताको विकासमा मानिसले कल्पना गरेभन्दा बढी योगदान पु¥यायो । मुद्राले वस्तु–विनिमय युगका कठिनाई र असहजतालाई समाप्त पारिदियो । मुद्राको प्रयोगले गर्दा मानिसलाई धनी बन्न, लगानी गर्न र ठूलो पूँजी निर्माण गर्न ज्यादै सजिलो बनायो । मुद्राको प्रयोगले मानिसका सम्पत्तिलाई पनि मुद्रामा परिणत गरेर राख्न सजिलो पारिदियो । त्यति मात्र होइन, आफूसँग भएको सम्पत्ति मानिसले मुद्रामा परिणत गरेर आफूले चाहेको स्थानमा सजिलै लग्न सक्ने स्थिति पनि सृजना गरिदियो । 

नेपालमा कागजी नोटहरु : 

नेपालमा आधुनिक कागजी नोटको प्रचलन राजा त्रिभुवनको पालामा शुरु भयो । कागजी नोटको प्रारम्भसँगै धातुका मुद्राहरु प्रतिस्थापन गर्दै लगियो । नेपाल राष्ट्र बैंकको स्थापनासँगै त्यसताका प्रचलनमा रहेका भारतीय नोटहरुलाई पनि प्रतिस्थापन गर्दै लगियो । हाल नेपालमा नेपाली नोट ९मुद्रा० नै आधिकारिक विनिमयको माध्यम बन्दै आएको छ । हाल नेपालमा पहिलेका राजाहरुको तस्वीर अङ्कित कागजी नोटहरु केही मात्रामा मात्र बाँकी रहेका छन् । ती नोटहरुका साथै देशको राजनैतिक परिवर्तन सँगसँगै नेपालमा गणतन्त्र स्थापना भएपछी प्रचलित कागजी नोटहरुमा देशका प्राकृतिक सम्पदाहरु अङ्कित तस्वीरहरु राख्ने गरिएको छ । 

आधुनिक बैंकिङ : सहज पार्दैछ जिवन 

आधुनिक बैकिङ्ग पद्धतिको विकाससंगै चेक, प्लास्टिक मूद्रा, डेविट कार्ड, क्रेडिट कार्डं, इलेक्ट्रोनिक बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, मोबाईल बैंकिङ समेतको विकास भइसकेको छ । अन्तर्राष्ट्रिय व्यापारको विविधतासँगै मुद्रा प्रचलनको सहजताका लागि विभिन्न अन्तर्राष्ट्रिय मुद्राहरुमध्ये अमेरिकी डलरलाई आधार मुद्राको रुपमा लिई अन्तर्राष्ट्रिय व्यापार गरिँदै आएको छ । विश्व व्यापारीकरणसँगै एक अर्कामा परनिर्भर बन्दै गएको बढ्दो अन्तराष्ट्रिय व्यापारिक कारोबारलाई जीवन्तता दिन आधुनिक बैकिङ्ग प्रणालीले नयाँ पद्धतिहरु अपानाएर दिएको सेवाले मानव जीवनलाई निकै सहज तुल्याएको छ ।

नेपाली बैंकिङ  ईतिहास

नेपालमा बैकिङ्ग प्रणालीको शुरुवात र विकासको हिसावले यो बैंक आजको बैकिङ्ग क्षेत्रमा आएको क्रान्तिको जग हो । भारतीय रुपैयाँको दबदवा रहेको समयमा आफ्नै देशको मुद्रा प्रचलनमा ल्याउन नेपाल बैंकले खेलेको भूमिका इतिहासका स्वर्णीम पानाहरुमा सदा लेखिइ रहने छ । 

वि.सं. १९९४ साल कार्तिक ३० गते स्थापना भएको यस बैंकको उद्घाटन तत्कालिन राजा त्रिभुवन विर विक्रम शाहले गरेका हुन् । शताब्दीको हाराहारी अनुभव बटुलेको यस ऐतिहासिक बैकिङ्ग धरोहरले नेपाली मुद्रा र नेपाली नोट प्रचलनमा सहजता ल्याई राष्ट्रिय पहिचान र राष्ट्रिय एकताको प्रबद्र्धन गर्दै राष्ट्र निर्माणमा पु¥याएको योगदान विशेष रहेको छ । नेपाल बैंकले आफनो स्थापना कालदेखि राष्ट्र बैंक स्थापना हुनुपूर्व वि.सं २०१२ सम्म देशको केन्द्रिय बैंकको रुपमा समेत कार्य गरी नेपालको बैंकिङ्ग क्षेत्रको अभिभावकीय भूमिका निर्वाह गरिसकेको छ । सो पश्चात बाणिज्य बैंकको रुपमा देशको विभिन्न कालखण्डमा विषम परिस्थितिका बावजुद ग्राहक वर्गको असिम विश्वास र भरोसालाई अक्षुण राख्दै अगाडि बढेको छ ।

समय अनुरुप परिमार्जन हुन सफल

बढ्दो प्रतिष्पर्धात्मक बैकिङ्ग व्यवसायमा यस बैंकले एक उत्कृष्ट बैंकको स्थान कायम राख्ने दिर्घकालीन रणनीतिका साथ अगाडि बढिरहेको छ । विगत लामो समयदेखि यस बैंकले उच्च नाफा आर्जन गरी शेयरधनीहरुलाई आकर्षक प्रतिफल दिंदै आएको छ ।

प्रविधिले ठुलो फड्को मारेको हालको विश्व वित्तीय बजारमा समयानुकुल नेपाल बैंक लिमिटेडले अन्तर्राष्ट्रिय असल अभ्यास सहितको प्रविधिमैत्री बैकिङ्गलाई आत्मसात गरी जनतालाई अझ सरल तथा सहज वित्तीय सेवा प्रदान गर्दै व्यापार, उद्योग व्यवसायको प्रवद्र्धन मार्फत समग्र आर्थिक विकास तथा रोजगारी सिर्जनामा अझ शसक्त भूमिका खेलेको छ ।

नेपालमा बैंकिङ्ग साक्षरताको माध्यमबाट देशको कुनाकाप्चासम्म पुगेर बचत गर्ने संस्कृतिको विकास एवम् अनौपचारिक क्षेत्रबाट मात्र भईरहेको आर्थिक कारोवारलाई बैंकिङ्ग प्रणालीमार्फत व्यवस्थित गरी देशको आर्थिक विकासलाई प्रवद्र्धन गर्न यो बैंकको अग्रणी भूमिका रहेको छ ।

मुलुकको आर्थिक समृद्धिको खातीर सहरी इलाकादेखि दूरदराजका गाउँवस्तीसम्म शाखा कार्यालयहरु विस्तार गरि यस बैंकले आफूलाई समर्पित गरिरहेको छ । बैकिङ्ग सेवा सँगै सरकार र समुदायसँग रहेर कार्य गर्ने सोच अनुरुप बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका थुप्रै समाज सेवाका कार्यहरुमा निरन्तर साथ दिइरहेको छ । प्राकृतिक प्रकोप, माहामारी लगायतका संकटहरुमा अग्रपङ्तीमा रहि बैंकले अतुलनीय भूमिका निर्वाह गरिरहेको छ ।

त्यसैगरी, वित्तीय पहुंचको विस्तार एवं वित्तीय समावेशीकरण मार्फत आर्थिक समृद्धिको आधारशीला निर्माणमा टेवा पु¥याउन देशव्यापी रुपमा वित्तीय ज्ञान एवम् चेतना प्रदान गर्दै विभिन्न साक्षरता कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ । देशमा उधोग धन्दा तथा कलकारखाना स्थापनाको लागि सारथी बन्दै प्रत्यक्ष/परोक्ष रोजगारी सिर्जना गर्दै आर्थिक समृद्धिमा सहयोग पुर्याउन यस बैंको भूमिका अत्यन्तै अतुलनिय रहेको छ ।

नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर : 

स्व.हिमालय शमशेर जबरा नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हुन् । २०१३ सालमा नेपाल राष्ट्र बैंकको स्थापना भएदेखि २०१६ सालसम्म पहिलो गभर्नरका रूपमा उनले राष्ट्र बैंकको नेतृत्व गरेका थिए ।  उनको कार्यकालमा नेपालमा औपचारिक बैंकिङ प्रणालीको सुरुआत भएको थियो।

वि.सं. २००७ साल फागुनमा नेपालमा युगान्तकारी परिवर्तन भएपश्चात् राजनीति र प्रशासन प्रणालीमा आमुल परिवर्तन आयो । त्यसपछिको करिब १० वर्षको कार्यावधिमा राजनीतिक नेता तथा प्रशासनमा नवनियुक्त कर्मचारीहरुलाई देश र जनताको हितको लागि नयाँ प्रशासकीय निकाय र संस्थाहरु संस्थापन गर्ने तथा नयाँ प्रशासन प्रणाली तर्जुमा गरी लागू गर्ने अवसरहरु प्राप्त भयो ।

सोही समयमा ५ वर्ष देशको पहिलो अर्थसचिव भइ कार्यरत रहेका हिमालय शमशेर राणाले अर्थमन्त्रालय र त्यस मन्त्रालय मातहतका नयाँ निकायहरु संस्थापना गर्न सकृय भूमिका निर्वाह गरेका थिए । त्यसपश्चात् नेपाल राष्ट्र बैंकको प्रथम गभर्नरमा नियुक्त भइ आफ्नो जिम्मेवारी सम्हालेका राणाले विभिन्न भोगाईहरु संगालेका थिए ।

नेपाली बैंकिङ क्षेत्रमा ती घुम्टिहरु : 

२०१३ सालअघि देशको विदेशी मुद्राको सञ्चिती भारतको बैंकहरुमा जम्मा हुन्थ्यो । लण्डनस्थित नेपाली दूतावासको खर्च वा राजा त्रिभुवनको उपचारको खर्च बेहोर्न चाहिने विदेशी मुद्रा रकमको लागि भारतको रिजर्भ बैंक अफ इण्डियामा दरखास्त हाली प्राप्त गर्नुपर्ने थियो । राष्ट्र बैंक सञ्चालनमा आएपश्चात् भारतको आर्थिक मामला सचिव वि.के. नेहरुसँग रिजर्भ बैंक अफ इण्डियामा खाता खोल्नेबारे पत्राचार गरेका थिए र उनको अनुमति पत्र गएपछि त्यहाँ राष्ट्र बैंकको खाता खोलिएको थियो ।

त्यस्तै, बैंक अफ इङ्ग्ल्याण्डसँग खाता खोल्न पत्राचार गरेकोमा पहिले सो बैंकका दुई कर्मचारीहरु र केही पछि बेलायत सरकारको विदेश मन्त्रालयका अण्डर सेक्रेटरी काठमाडौं आएर हिमालय समशेरसँग अन्तरक्रिया गरेका थिए । उनीहरुबाट सकारात्मक प्रतिवेदन प्राप्त भएपछि बैंक अफ इङ्ग्ल्याण्डमा राष्ट्र बैंकको खाता खुल्यो । साथै, न्यूयोर्कस्थित फेडरल रिजर्भ बैंकमा पनि खाता खोल्न सफल भयौ । राष्ट्र बैंक सञ्चालनमा आएको त्यस्तै, ९ र १० महिनापछि नेपाल विदेशी मुद्रा सञ्चालनमा स्वतन्त्र भयो ।

आर्थिक परामर्शदातासँग जिद्धि गरी बैंकमा आर्थिक रिसर्च विभागको स्थापना पनि उनले नै गरेका थिए । यस विभागले गरेको अध्ययन, अनुसन्धान र प्रस्तुत गरेको आर्थिक प्रतिवेदनहरु आर्थिक र वित्तीय क्षेत्रको लागि पथप्रदर्शक सावित भएको छ । बैंकका यी उपलब्धीको श्रेय इलामदेखि कैलालीसम्म शाखा, उपशाखा, सटही डिपोहरुमा र केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीहरुलाई जान्छ ।

सन् १९६० को सेप्टेम्बरमा अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको वार्षिक सम्मेलनमा भाग लिँदा जापानको केन्द्रीय बैंकका गभर्नर यामामोटोसँग हिमचिम भयो र उनको निमन्त्रणामा केही दिन टोकियोमा रहँदा जापानको उत्तरोत्तर सशक्त हुँदै गएको निर्यात व्यापार र अर्थतन्त्रको विस्तृत जानकारी पाएका थिए ।

नेपाल फर्केपछि राष्ट्र बैंकले आफ्नो विदेशी मुद्राको सञ्चिती भारतीय, बेलायती र अमेरिकी मुद्रामा राख्ने गरेकोमा केही रकम जापानी येनमा पनि राख्न लगाए । येनको दर बढ्दै गएपछि राष्ट्र बैंकलाई धेरै फाइदा भयो । राष्ट्र बैंक येनमा सञ्चिती राख्ने पहिलो केन्द्रीय बैंक भएछ । त्यसबेला बैंक अफ जापानमा कार्यरत र पछि १९७६ तिर एसियाली विकास बैंकको अध्यक्ष भएका योशिदाले पूर्व गभर्नर सत्यन्द्र प्यारा श्रेष्ठसँगको भेटमा येनमा विश्वास गरी पहिलो डिपोजिटर हुन निर्णय गर्ने राष्ट्र बैंकका गभर्नरबारे सोधपुछ भएछ ।

संक्षेपमा :

-गभर्नरको रुपमा कार्यकालः वि.सं. २०१३ वैशाख १४२०१७ माघ २५
-निधनः वि.सं. २०७९ माघ २२
-निधनको कारणः पार्किन्सन रोग
-उनको बारेमा अन्य जानकारीः
-उनले १४ वर्षकै उमेरमा मेट्रिक पास गरेका थिए।
-राष्ट्र बैंकको गभर्नर हुनुपूर्व उनले ५ वर्ष नेपाल सरकारको अर्थ सचिव भएर काम गरेका थिए।
-गभर्नर हुँदा उनी मात्र २९ वर्षका थिए।
-उनकै कार्यकालमा भारतीय रुपैयाँको विनिमय दर रू १०० बराबर १६० ने.रु. कायम गरिएको थियो जुन हालसम्म पनि कायम रहेको छ ।
-जबराले सन् १९८७मा नेपालमा गोर्खा ब्रुअरी स्थापना गरी काल्स्वर्ग र टुबोर्ग वियर नेपालमा भित्र्याएका थिए ।
-उनले सन् १९९३मा पाकिस्तानको हबिब बैंकसंग संयुक्त लगानीमा हिमालयन बैंक लिमिटेड स्थापना गरेका थिए।
-जबरा जापान सरकारबाट उच्च श्रेणीको ’द अर्डर अफ् द राइजिंग सन’को ’गोल्ड एण्ड सिल्भर’ अवार्डबाट समेत सम्मानित छन् ।

डिजिटल बैंकिङ : 

डिजिटल बैंकिङ अर्थात भौतिक रुपमा उपस्थित नभइ आधुनिक सूचना तथा प्रविधिको उपयोग गरेर गरिने बैंकिङ प्रणाली, अर्थात डिजिटल बैंकिङ एक नयाँ युग हो । घरमै बसेर केही मिनेटमै कम्प्यूटर, ल्यापटप र स्मार्टफोन आदिको प्रयोगबाट सबै बैंकिङ सुविधाहरु प्राप्त गर्न सकिन्छ । यसको अतिरिक्त पैसा पनि लाग्दैन । डिजिटल बैंकिङले ग्राहकहरुको दैनिकी एवं जीवनशैलीमा बैंकलाई प्रविधिबाट सम्बन्ध जोड्ने गर्दछ ।

नेपालमा डिजिटल बैंकिङ सन् १९९३ तिर सुरु भएको हो । यस्तै, इन्टरनेट बैंकिङको थालनी सन् २००२ मा भएको हो । यस्तै, सन् २००३ मा भिसा डेबिट कार्ड र २००४ मा मोबाइल बैंकिङ सुरु भएको पाइन्छ । यद्यपी यसको प्रयोग र विस्तारमा केही समय भने लाग्यो । तर हाल कोरोना माहामारीको रोकथाम एवं नियन्त्रणका लागि गरिएको लकडाउन र भौतिक दुरी कायम गर्नुपर्ने भएकाले डिजिटल बैंकिङ प्रयोगकर्ताको संख्यामा वृद्धि भएको छ । खाता खोल्ने, भुक्तानी गर्ने, पैसा पठाउने, ऋण आवेदन दिने जस्ता बैंकिङ सेवाहरू अहिले घर बसेरै गर्न सकिन्छ ।

सूचना प्रविधिमा भएको विकाससँगै डिजिटल बैंकिङ साझा रुचि एवं चासोको विषय बनेकाले यसको प्रयोगकर्ताहरु दिनानुदिन बढ्दै गएकाछन् । आज हरेकको धेरै समय सामाजिक सञ्जाल तथा मोबाइल फोनमा व्यतित हुन्छ र यो सबैको पहुँचमा पनि छ । यस्तो प्रविधिमार्फत मानिसहरुलाई बैंकसँग जोड्न र जोडिन पनि सहज छ । यस प्रकारको बैंकिङ प्रविधिले घरमै बसेर सबै कारोबार गर्न सहज हुन्छ । साथसाथै यस माहामारीमा शारीरिक दूरी पनि कायम हुन्छ । यस बाहेक, कम्पनीहरुले डिजिटल भुक्तानीबाट आफ्नो ग्राहकहरुलाई छूट र क्यासब्याकको आकर्षक अफरहरु समेत प्रदान गरिरहेका हुन्छन् । आजभोली क्यासलेस कारोबार रुचि, चासो र भरपर्दो माध्यम बनेको छ । यसको प्रयोग पनि सहज, सरल र भरपर्दो छ । 

नेपाल सरकारले पनि डिजिटल कारोबारलाई प्रोत्साहित गर्न डिजिटल नेपाल फ्रेमवर्क सार्वजनिक गरेको छ, उक्त डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत रहेको ८ वटा क्षेत्रहरु मध्ये एक महत्वपूर्ण क्षेत्रको रुपमा वित्तीय क्षेत्र पनि समावेश छ । जहाँ “डिजिटल नेपालका पहलले वित्तीय क्षेत्रलाई प्रोत्साहित गर्न डिजिटल प्रविधि तथा टेलिकमका प्रविधिबाट लाभ लिदै बैकिङ संञ्जालमा आवद्ध नभएका जनतालाई लक्षित गरेको छ । वित्तीय मध्यस्थता र वित्तीय लागत कम गर्ने प्रायोजनका लागि वित्तीय समावेशिता तथा आर्थिक समृद्धि बीच बलियो सम्बन्ध रहेकाले फिनटेकको प्रयोगबाट बैंकमा आवद्ध नभएका ५५ प्रतिशत जनतामा वित्तीय सेवाको पहुँच पुर्याउने, वित्तीय प्रणलीलाई पारदर्शी र जवाफदेही बनाउने र कर प्रणालीलाई पारदर्शी र जवाफदेही बनाउने र कर प्रणालीलाई लागत कम गरी स्वेच्छिक कर सहभागिता प्रवद्र्धन र राष्ट्रिय राजश्वको संरक्षण गर्ने उदेश्य लिइएको छ ।” उल्लेख गरिएको छ ।