
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग कारोबार गर्दा आउने गुनासो र समस्या समाधानका लागि नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ। राष्ट्र बैंकको निर्देशनअनुसार अब सबै बैंक तथा वित्तीय संस्थाले आफ्ना वेबसाइटको अग्रभागमा “सूचना तथा गुनासो सुनुवाइ डेस्क” सम्बन्धी सम्पूर्ण विवरण अनिवार्य रूपमा राख्नुपर्ने भएको छ।
यसमा गुनासो सुन्ने अधिकारीको नाम, पद, फोन नम्बर, मोबाइल नम्बर, इमेल ठेगाना, हटलाइन नम्बर र अनलाइन पोर्टलको विवरण समावेश गर्नुपर्ने उल्लेख गरिएको छ। यदि सम्बन्धित बैंक वा वित्तीय संस्थामा राखिएको गुनासो समयमा समाधान नभएमा सेवा ग्राहकले अब नेपाल राष्ट्र बैंकको अनलाइन पोर्टल gunaso.nrb.org.np मा आफ्नो गुनासो दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले भनेको छ, “गुनासो सुन्ने डेस्कमा सम्पर्क गर्दा पनि समस्या समाधान नभएमा ग्राहकले अब सो पोर्टलमार्फत प्रत्यक्ष रूपमा गुनासो दर्ता गर्न सक्नेछन्।” त्यसका साथै, नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय तथा देशका विभिन्न प्रदेशस्थित कार्यालयहरूमा पनि गुनासो दर्ता गर्न सकिनेछ।
वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले जनाएअनुसार, यो व्यवस्था ग्राहकको हक संरक्षण र बैंकिङ प्रणालीप्रति विश्वास अभिवृद्धि गर्नका लागि गरिएको हो। राष्ट्र बैंकले गुनासो दर्ता र सुन्ने सम्बन्धी सम्पर्क नम्बर ०१–५७१९६०५ सार्वजनिक गरेको छ। बैंकका ग्राहकले कुनै पनि सेवा, शुल्क, व्याजदर, कर्जा प्रक्रिया वा व्यवहारिक समस्या सम्बन्धी उजुरी उक्त नम्बर वा अनलाइन पोर्टलमार्फत दर्ता गर्न सक्नेछन्।
