January 3rd, 2017

रेमिट्यान्स बढ्यो,  तर उकासिएन जीवनस्तर

पछिल्लो समय कालीकोट जिल्लामा विप्रेषण कारोबार फस्टाएको छ । पाँच वर्षअघि जिल्लामा एक मात्र हिमचुली कृषि सहकारी संस्था लिमिटेडले बैंक अफ काठमाडौँबाट सुरु गरेको विप्रेषण हाल आएर आइएमई, हिमाल रेमिट, वेस्टर्न रेमिट, सिजी रेमिटलगायत सातवटा रेमिट सञ्चालन गरेको छ भने जिल्लामा राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आइएमई बैंक बाहेकका अन्य निजी सङ्घसंस्थामार्फत एक दर्जनभन्दा बढी विप्रेषण स्थापना भएका छन् । सदरमुकाम मान्ममा कर्णाली जडीबुटी सहकारी संस्थाले प्रभु रेमिट सञ्चालनमा ल्याएको छ भने रातोगुराँस बचत तथा ऋण सहकारीले रिलेवल, लक्ष्मी रेमिट र सिटिजन लगायतको रेमिट सञ्चालनमा ल्याएका छन् । यस्तै, जिल्लामा आइएमई, प्रभु, हिमाल, रिलेवल, लक्ष्मी रेमिट, सिजी फिन्को, हुलास, सिटिजन, सिटी एक्सप्रेस, वेस्टर्न युनियन, सिजी रेमिट, वेस्ट रेमिट लगायतले मनिट्रान्सफरको काम गर्दै आएका छन् । 

जिल्लाका गाउँगाउँबाट वैदेशिक रोजगारमा जाने क्रम बढेसँगै विप्रेषण कारोबार बढ्न थालेको हो । हाल वैदेशिक रोजगारबाट मात्र मासिक २ करोड रुपैँया बराबर रकम भित्रिने गरेको बताइएको छ । तर, रकम भारी मात्रामा भित्रिएपनि कालीकोटमा कुनै पनि ठाउँमा उद्योग तथा आम्दानी हुने खालका व्यवसाय स्थापना भने हुन सकेका छैनन् । जिल्लामा भित्रिएको रकम घरजग्गा कारोबारका लागि जिल्लाबाट बाहिरिने गरेको छ । गाउँका अधिकांश युवाहरु विदशिएका छन् । उनीहरुले विदेशबाट पठाएकै रेमिट्यान्सका कारण घरमा बस्नेहरुले खेती किसानी गर्न समेत छोडेका छन् ।