
बैंकिङ खबर/ बैंकिङ विज्ञ एवं नेपाल बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष भुवन दाहालले बैंकिङ क्षेत्रमा रहेका चुनौतीहरूलाई समाधान गर्न सुधारमुखी दृष्टिकोण आवश्यक रहेको बताएका छन् ।
मिडियम इन्टरनेसनलले आयोजना गरेको बैंकिङ कनक्लेभ कार्यक्रममा दाहालले सो कुरा बताएका हुन् । यस्तै दाहालले बैंकमा रहेको सुन र नगद बीमा गरिएको हुन्छ र त्यसको जोखिम न्यून रहेको पनि बताए ।
उनले भने, ‘सुन र नगदको बीमा गरिएको हुन्छ । त्यस्तो रकम गुम्दैन, रिकभर हुन्छ भन्ने अवस्था हुन्छ ।’ यस्तै उनले अहिले बैंकिङ क्षेत्रको अवस्था अत्यन्त जटिल रहेको पनि उल्लेख गरे । निष्क्रिय कर्जा (एनपिए) अत्यधिक वृद्धि हुँदै गएको छ, जसले बैंकहरूको नाफा घटाएको छ । ‘एनपिए बढ्दै गइरहेको छ, बैंकहरूको नाफा कम हुँदै गएको छ र नन–बैंकिङ क्षेत्र पनि विस्तार हुँदैछ,’उनले भने ।
दाहालले डिपोजिटरहरूको विश्वास कायम रहनुपर्नेमा जोड दिए । उनले भने, ‘५ देखि १० प्रतिशतसम्म एनपिए हुँदा पनि डिपोजिटरहरूले आत्तिनु पर्दैन । बैंकिङ प्रणाली अझै सुदृढ छ र त्यसले जोखिम सामना गर्न सक्छ ।’
समस्या ग्राहकहरूको जानकारी अभावमा पनि भएको दाहालले बताए । ‘ग्राहकले कुन बैंक विश्वसनीय हो, कुन छैन भनेर बुझ्दैनन् । त्यसैले सबै बैंकहरूको अवस्थाबारे जानकारी पाउने मेकानिजम राष्ट्र बैंकले बनाउनुपर्छ,’ उनले भने ।
डिजिटल पेमेन्टमा तीव्र वृद्धि
दाहालले पछिल्ला वर्षहरूमा डिजिटल पेमेन्ट प्रणालीमा ठूलो प्रगति भएको बताए । ‘कोभिड–१९ पछि बैंकिङ सेवामा डिजिटल माध्यमको प्रयोग अत्यधिक बढेको छ । अहिले ग्राहकले मोबाइलमार्फत सजिलै कारोबार गर्न सक्छन्, यो ठूलो प्रगति हो,’ उनले भने ।
उनका अनुसार, ‘क्लिक बैंकिङ’ को विकासले बैंकिङ सेवाको पहुँच र कार्यक्षमता बढाएको छ । तर उनले प्रमोशन र विज्ञापनमा अत्यधिक खर्च हुने प्रवृत्तिको आलोचना गरे । ‘विविध ठाउँमा गएर बैंकहरूले प्रचार–प्रसारमा अनावश्यक खर्च गरेका छन्, तर उत्पादक क्षेत्रमा लगानी त्यति बढाएको देखिँदैन,’ उनले भने ।
राष्ट्र बैंकको विकास कोष र बोर्डबारे असन्तुष्टि
दाहालले राष्ट्र बैंकको विकास कोष(डेभलपमेन्ट फण्ड) मा पारदर्शिता र प्रभावकारिता नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गरे । ‘सिएसआरको फण्ड एकदमै कनिका जस्तै छर्किएको छ । यसले ठोस परिणाम दिएको छैन,’ उनले टिप्पणी गरे ।
त्यसैगरी, उनले राष्ट्र बैंकको बोर्ड खारेज हुनुपर्ने समेत तर्क प्रस्तुत गरे । ‘राष्ट्र बैंकको बोर्डको संरचना नै पुनरावलोकन हुनुपर्छ। हालको अभ्यासले बैंकिङ सुधारमा योगदान दिइरहेको देखिँदैन,’ दाहालले भने ।
दाहालले कर्जासम्बन्धी फाइल प्रक्रियामा पनि समस्या रहेको बताए । ‘कर्जाको फाइलमा १० देखि १५ जनासम्मको सहि हुन्छ, तर जब समस्या आउँछ, कसको जिम्मेवारी हो भन्ने स्पष्ट हुँदैन,’ उनले भने ।
उनका अनुसार, यसले बैंकका कर्मचारीहरूलाई डराउने वातावरण सिर्जना गरेको छ । ‘कर्जा प्रवाह गर्न डराउने अवस्था बनेको छ । यस्तो अवस्थाले लगानी बढ्न रोकिरहेको छ,’ उनले थपे ।
‘राष्ट्र बैंकले सजाय र पुरस्कार दुवै नीतिमा पुनर्विचार गर्नुपर्छ’
दाहालले राष्ट्र बैंकले लागू गर्ने बैंकिङ सजाय प्रणालीप्रति पनि आलोचना गरे । उनका अनुसार, राष्ट्र बैंकका नियमहरू कहिलेकाहीँ अत्यधिक कठोर हुँदा बैंकका कर्मचारीहरू त्रसित हुन्छन् ।
‘राष्ट्र बैंकले सजायका नीति बनाउँछ, तर प्रोत्साहनको नीति हुँदैन । यसले कर्मचारीहरूको उत्साह घटाउँछ,’ उनले भने । उनले राष्ट्र बैंकका स्टाफहरूमा पनि ‘अर्न ओभर’ बढेको उल्लेख गर्दै, नीति निर्माणमै लचकता र व्यावसायिक सन्तुलन आवश्यक रहेको बताए ।
लगानी विस्तार र दीर्घकालीन सोच आवश्यक
भुवन दाहालका अनुसार अहिलेको अर्थतन्त्रलाई सुदृढ बनाउन लगानी विस्तार अत्यावश्यक छ । ‘लगानी बढाउनुपर्ने अवस्था छ । केवल ब्याजदर घटाएर समस्या समाधान हुँदैन,’ उनले भने ।
उनले निजी क्षेत्रलाई उत्पादनमुखी लगानीमा प्रोत्साहित गर्न सरकार र नियामक निकायबीच सहकार्य आवश्यक रहेको बताए । ‘बैंकिङ प्रणाली उत्पादनमा जोडिन सकेन भने आर्थिक वृद्धि दीर्घकालीन टिकाउ हुँदैन,’ उनको भनाइ छ ।
