२०८२ आश्विन ३० गते

जीवन बीमामा स्थिरताको संकेतः सरेण्डर रकम ९.१८ प्रतिशतले कमी

बैंकिङ खबर/ नेपालका जीवन बीमा कम्पनीहरूमा पछिल्लो समय सरेण्डर रकम घट्दै गएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको भदौ महिनासम्म बीमितहरूले सरेण्डरमार्फत झिकेको रकम ९.१८ प्रतिशतले घटेको हो ।

हालसम्म देशभर सञ्चालित जीवन बीमा कम्पनीहरूबाट चालु आवको दुई महिनामै सरेण्डरमार्फत २ अर्ब ५० करोड ७ लाख रुपैयाँ बाहिरिएको छ । यो रकम गत आवको सोही अवधिमा बाहिरिएको २ अर्ब ७५ करोड ३३ लाख रुपैयाँको तुलनामा कम हो । प्राधिकरणका अनुसार सरेण्डर रकमसँगै बीमालेख त्याग गर्ने संख्या पनि घटेको छ।

गत आवको भदौ महिनासम्म १९ हजार ७४१ जनाले बीमालेख समर्पण गरेका थिए भने चालु आवको सो अवधिसम्म यो संख्या घटेर १५ हजार ८९८ जनामा पुगेको छ। यसरी बीमालेख समर्पण संख्या १९.४७ प्रतिशतले घटेको देखिन्छ। तर, सरेण्डर घटेपनि बीमा कम्पनीहरूका लागि चिन्ताको अर्को पक्ष भने व्यतित (नविकरण नगरिएका) बीमालेखहरूमा वृद्धि हुनु हो।

चालु आवको पहिलो दुई महिनासम्म यस्तो रकम ३६ अर्ब ४३ करोड ४७ लाख रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा यो रकम ३४ अर्ब ६७ करोड ६९ लाख रुपैयाँ मात्र थियो। यसरी व्यतित रकम ५.०७ प्रतिशतले बढेको देखिन्छ। व्यतित बीमालेखको संख्या पनि बढेको छ। गत आवमा ११ लाख ८० हजार ६१६ वटा बीमालेख नविकरण नगरिएका थिए भने चालु आवमा यो संख्या बढेर १२ लाख १३ हजार ५६२ पुगेको छ। यो वृद्धि दर २.७९ प्रतिशत हो।

बीमा विश्लेषकहरूका अनुसार सरेण्डर घट्नु जीवन बीमा बजारका लागि सकारात्मक सूचक हो, तर व्यतित पोलिसी बढ्नु दीर्घकालीन जोखिमको संकेत हो। सरेण्डर दर घट्नुले बीमितको विश्वास फिर्ता भएको संकेत गर्छ भने व्यतित पोलिसीले कम्पनीको नगद प्रवाहमा नकारात्मक असर पार्ने देखिन्छ।

गत केही वर्षयता देशमा राजनीतिक अस्थिरता, सहकारी संकट र आर्थिक अनिश्चितताका कारण बीमा क्षेत्र प्रभावित भएको थियो। सहकारीमा फसेका रकमका कारण धेरैले बीमा पोलिसीसमेत तोड्ने क्रम बढेको थियो। तर पछिल्लो समय बीमा कम्पनी र अभिकर्ताहरूको जनचेतना प्रयासपछि सरेण्डर दरमा कमी आएको बीमा प्राधिकरणको निष्कर्ष छ।

बीमा अभिकर्ताहरूले ग्राहकलाई दीर्घकालीन योजनाका रूपमा जीवन बीमाको महत्व बुझाउँदै आएका छन्। बीमा कुनै तत्काल नाफाको साधन नभई भविष्यको आर्थिक सुरक्षाको ग्यारेन्टी हो। यही बुझाइ विस्तार हुँदै जाँदा सरेण्डर दर घटेको बताइन्छ। तर व्यतित बीमालेख बढ्नुले कम्पनीहरूमा दीर्घकालीन चुनौती सिर्जना गर्न सक्छ।

बीमितले समयमै प्रिमियम नतिर्दा कम्पनीहरूको आयस्रोत घट्ने, दाबी भुक्तानी क्षमतामा असर पर्ने र बजारमा विश्वास कम हुने जोखिम रहन्छ। प्राधिकरणले बीमा कम्पनीहरूलाई ग्राहकसँग निरन्तर सम्पर्कमा रहन, प्रिमियम तिर्न सहज डिजिटल प्रणाली विकास गर्न र जनचेतना बढाउन निर्देशन दिएको छ।

सरेण्डर दर घट्नु तत्कालका लागि राहतको संकेत भए पनि व्यतित बीमालेख बढ्नु दीर्घकालीन जोखिमको चेतावनी हो। बीमा कम्पनी, अभिकर्ता र नियामक निकायको साझा प्रयासले मात्र बीमा बजारमा स्थायित्व ल्याउन सकिने विशेषज्ञहरूको भनाइ छ।