
बैंकिङ खबर/ ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जर प्रक्रियामा एकीकृत भई आउँदो कात्तिक २ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन्।
नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतपत्र प्राप्त दुबै लघुवित्त संस्थाले मर्जर प्रक्रिया पूरा गरी नयाँ नाममा ‘ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’ का रूपमा कारोबार थाल्ने निर्णय गरेका हुन्।
मर्जअघि ग्रामीण विकास लघुवित्तको केन्द्रीय कार्यालय बुटवल, रुपन्देहीमा र समाज लघुवित्तको कार्यालय मलंगवा, सर्लाहीमा रहेको थियो। मर्जरपश्चात् कम्पनीको प्रधान कार्यालय बुटवलमै रहनेछ।
दुवै कम्पनीले कात्तिक १ गते सम्पूर्ण बैंकिङ कारोबार सफ्टवेयर मिलानका लागि एक दिनका लागि बन्द रहने जानकारी दिएका छन्। नेपाल राष्ट्र बैंकले मर्जरको अन्तिम स्वीकृति असोज २३ गते प्रदान गरेको हो।