Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

हिमालयन लाइफ इन्स्योरेन्समा जेनजी आन्दोलनको झल्को : सिइओले दिए राजीनामा

admin २०८२ आश्विन २८ गते
सेयर:

बैंकिङ खबर/ हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार लाल कर्णले राजीनामा दिएका छन्। अभिकर्ता र कर्मचारीको निरन्तर आन्दोलनपछि उनले पदबाट राजीनामा दिएको पुष्टि भएको छ।

सिइओ कर्णले औपचारिक रूपमा राजीनामा बुझाइसकेका छन्। कर्णको राजीनामा स्वीकृत गर्दै बैठकले निमित्त सीईओको रुपमा कपिल कुमार दाहाललाई नियुक्त गरेको जनाइएको छ । दाहाल कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत हुन् । 

गत बुधबारदेखि अभिकर्ताहरुले कर्णको राजीनामा माग गर्दै आन्दोलन सुरु गरेका थिए। त्यसपछि सोमबारदेखि कम्पनीका कर्मचारी पनि आन्दोलनमा उत्रिएका थिए। उनीहरूले कार्यालय परिसरमा धर्ना दिँदै सिइओलाई कार्यालय प्रवेशमा समेत रोक लगाएका थिए।

कर्मचारी र अभिकर्ताहरुले सिइओ कर्णमाथि विभेदपूर्ण व्यवहार गरेको आरोप लगाउँदै आएका थिए। कर्णले आफू नजिकका अभिकर्ता र कर्मचारीलाई विशेष सुविधा दिने तर अन्यलाई आधारभूत सुविधा समेत नदिने गरेका थिए। साथै, आन्दोलनरत अभिकर्ताहरूसँग संवाद गरी समस्या समाधान गर्नुभन्दा उल्टै गुटबन्दी गराएर आन्तरिक द्वन्द्व भड्काउने काम गरेको आरोप पनि लगाइएको छ।

अभिकर्ता पक्षले बोनस दर वृद्धि गर्नुपर्ने माग समेत गरेका थिए। उनीहरूले बीमितलाई दिइने बोनस दर कम्तीमा ५० रुपैयाँ बनाउनुपर्ने, प्रतिस्पर्धी कम्पनीसँग बराबरीको बोनस दर कायम गर्नुपर्ने, व्यवस्थापनको लापरवाही नियन्त्रण गर्नुपर्ने, विभेदकारी नीति अन्त्य गर्नुपर्ने र बीमितको विश्वासमा खेलबाड नगर्नुपर्ने माग राखेका थिए।

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीहरूको मर्जरबाट बनेको हो। कर्ण यसअघि युनियन लाइफ इन्स्योरेन्सका सिइओ रहेका थिए।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।