बैंकिङ खबर/ ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको यो संस्था, ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक कम्पनी हो। ग्रामीण क्षेत्र र विपन्न वर्गमा लक्षित सेवाका लागि स्थायी रूपमा पदपूर्ति गर्नका लागि विज्ञापन प्रकाशित गरिएको हो।
संस्थाले सूचना प्रविधि, जोखिम व्यवस्थापन, तालिम, अनुगमन, शाखा प्रमुख र फिल्ड सहायकसहितका पदमा कर्मचारी आवश्यक भएको जनाएको छ। इच्छुक र योग्य उम्मेदवारले विज्ञापन प्रकाशित मितिले १५ दिनभित्र संस्थाको वेबसाइट www.gilb.com.np को Career पृष्ठमा गई आवेदन दिन सक्नेछन्।
संस्थाले जानकारी दिएअनुसार सूचना प्रविधि विभागमा व्यवस्थापकीय, अधिकृत र सहायक तहका पदका लागि IT, Computer Engineering वा MIS विषयमा स्नातक वा स्नातकोत्तर तह उत्तीर्ण र सम्बन्धित क्षेत्रमा अनुभव आवश्यक हुनेछ। जोखिम व्यवस्थापन र तालिम विभागमा स्नातक वा स्नातकोत्तर तहका साथै बैंक तथा वित्तीय क्षेत्रमा २ देखि ५ वर्षसम्मको कार्यानुभव मागिएको छ। चार्टर्ड एकाउण्टेन्ट (CA/ACCA) वा सेमी क्वालिफाइड उम्मेदवारलाई विशेष प्राथमिकता दिइनेछ।
त्यस्तै, प्रदेश प्रमुख, अनुगमन अधिकृत र शाखा प्रमुखका पदका लागि पनि बैंक तथा लघुवित्त क्षेत्रमा काम गरेको अनुभव आवश्यक रहेको उल्लेख गरिएको छ। फिल्ड सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायकका पदमा भने SEE देखि प्रवीणता प्रमाणपत्र तहसम्मको शैक्षिक योग्यता र कम्तीमा एक वर्षको कार्यानुभव भएका उम्मेदवारले आवेदन दिन सक्नेछन्।
व्यवस्थापकीय श्रेणीका लागि उमेर सीमा २१ देखि ५० वर्ष, अधिकृतका लागि २१ देखि ४० वर्ष र सहायकका लागि १८ देखि ३५ वर्ष तोकिएको छ। महिलाका लागि उमेरको माथिल्लो हदमा पाँच वर्ष थपिनेछ। परीक्षाको किसिम लिखित, प्रयोगात्मक वा अन्तर्वार्ता कुनै वा सबै हुन सक्ने बताइएको छ। छोटो सूचीमा परेका उम्मेदवारलाई फोन, एसएमएस वा इमेलमार्फत जानकारी गराइनेछ।
संस्थाले विज्ञापन आंशिक वा पूर्ण रूपमा रद्द गर्ने अधिकार आफूमा निहित रहेको जनाएको छ। सवारी चालक अनुमतिपत्र भएकालाई आवेदनमा प्राथमिकता दिइने संस्थाले जनाएको छ।
ग्लोबल आइएमई लघुवित्तको केन्द्रीय कार्यालय पोखरा–२६, विजयपुर, कास्कीमा रहेको छ। थप जानकारीका लागि फोन नम्बर ०६१–४११४३८ वा ४११४३९ मा सम्पर्क गर्न सकिनेछ।