
बैंकिङ खबर/ जेनजी आन्दोलनका क्रममा भएका भौतिक र अन्य क्षतिको बीमा दाबी रकम करिब २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँ पुगेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्म कुल ३ हजार ९९ वटा बीमा दाबी दर्ता भएका छन्। प्राधिकरणका अनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूमा दाबी परेका छन्। तीमध्ये हालसम्म बीमकहरूले अग्रिम भुक्तानीसहित १ अर्ब ५८ करोड ५६ लाख रुपैयाँ बीमितहरूलाई भुक्तानी गरिसकेका छन्।
बीमा दाबीको मूल्याङ्कन तथा अनुगमनका लागि २ हजार ७१० वटा दाबीका लागि सर्भेयर खटाइएका छन्। तीमध्ये हालसम्म ३७४ वटा सर्भे प्रतिवेदन प्राप्त भएका छन्। सम्पत्ति बीमातर्फ ६५३ वटा दाबी परेका छन्, जसको कूल रकम १९ अर्ब ६ करोड ७६ लाख रुपैयाँ रहेको छ। यसमध्ये हालसम्म बीमकहरूले १ अर्ब ३२ करोड ७२ लाख रुपैयाँ भुक्तानी गरिसकेका छन्। त्यस्तै, मोटर बीमामा २ हजार २०६ वटा दाबी दर्ता भएका छन्। मोटर बीमाको कूल दाबी रकम ३ अर्ब ४१ करोड ६ लाख रुपैयाँ रहेको छ भने बीमकहरूले २४ करोड ९१ लाख रुपैयाँ भुक्तानी गरिसकेका छन्।
इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १९० वटा दाबी परेका छन्, जसको कूल रकम ३८ करोड ३ लाख रुपैयाँ रहेको छ। बीमकहरूले यसबीचमा ८७ लाख रुपैयाँ भुक्तानी गरेका छन्। परिवहन बीमातर्फ १२ वटा दाबी दर्ता भएका छन् र कूल रकम १ करोड ६३ लाख रुपैयाँ रहेको छ। अन्य बीमातर्फ ३८ वटा दाबी परेका छन्, जसको कूल रकम ३५ करोड ३७ लाख रुपैयाँ छ। नेपाल बीमा प्राधिकरणले बीमितहरूको हित संरक्षणलाई प्राथमिकतामा राख्दै बीमा दाबी प्रक्रिया छरितो, पारदर्शी र प्रभावकारी बनाउन बीमा कम्पनीहरूलाई निर्देशन दिएको जनाएको छ।
