२०८२ आश्विन २२ गते

राष्ट्र बैंकको नयाँ कदम : बैंकवित्तमा थुप्रिएको पैसा सेयरमा भित्रिने संकेत !

बैंकिङ खबर/ बैंकवित्तमा थुप्रिएको रकम विस्तारै सेयर बजारमा फैलीने संकेत देखिएको छ । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको व्यक्तिगत सेयर कर्जामा अधिकतम २५ करोडको सीमा हटाएपछि सेयर लगानीकर्तामा नयाँ उत्साह थपिएको हो । यससँगै सेयर धितो कर्जामा बृद्धि हुने र लगानीयोग्य रकम सेयर बजारमा खिचिने प्रवल सम्भावना छ । नेपाल राष्ट्रबैंकले सेयर धितो कर्जाको व्यक्तिगततर्फको २५ करोड रुपैयाँको सीमा हटाएको छ। केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरेको सर्कुलरमार्फत पुरानो सीमा सम्बन्धी व्यवस्था खारेज गरेको हो। यसअघि कुनै एक वा सबै इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमार्फत प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक सीमा कुल २५ करोड रुपैयाँ कायम गरिएको थियो। राष्ट्रबैंकले उक्त प्रावधान पूर्ण रूपमा हटाइदिएको जनाएको छ।

नयाँ निर्णयपछि अब हरेक व्यक्तिले बैंक तथा वित्तीय संस्थाहरूबाट जति आवश्यक छ त्यति सेयर धितो कर्जा लिन सक्ने अछन् । अर्थ मन्त्रालयले केही समयअघि गठन गरेको पूँजीबजार सुधार कार्यदलले सेयर धितो कर्जामा रहेको यो सीमा हटाउन सिफारिस गरेको थियो। सोही सुझावको आधारमा नेपाल राष्ट्र बैंले नयाँ व्यबस्था ल्याएको हो । यस निर्णयले पूँजी बजारमा लगानी बढ्ने र लगानीकर्ताहरूको पहुँच अझ सहज हुने अपेक्षा गरिएको छ। अब बैंक तथा वित्तीय संस्थाले ६ महिनासम्मका लागि मात्रै पनि सेयरमा लगानी गर्न पाउने छन् । यसअघि यो व्यबस्था एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइने थियो । यससँगै एकपटक किनेको सेयर एक आर्थिक वर्षमा प्राथमिक पुँजीको २० प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्ने व्यवस्था पनि राष्ट्र बैंकले हटाएको छ । यी व्यवस्थाका कारण सेयर बजार बढ्न नसकेको निष्कर्षका आधारमा राष्ट्र बैंकले उल्लिखित व्यवस्था गरेको हो । पछिल्लो समयमा बेंकमा रकम थुप्रिएका कारण पनि केन्द्रीय बैंकलाई सेयर बजारमा लगानी बढाउन सहज भएको अनुमान गरिएको छ । बाहीरी बजार र अर्थतन्त्र त्यति खुल्ला छैन । फलस्वरुप लगानीका क्षेत्र साँघुरीदै गएका छन् । यस्तो अबस्थामा सेयर बजारमा लगानी बढ्ने अनुमान गरिएको छ ।