
बैंकिङ खबर/ सर्वोच्च अदालतमा शरद ओझाको मुद्दा विचाराधीन रहँदै गर्दा नेपाल बीमा प्राधिकरणको अध्यक्षमा जनकराज शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्।
शुक्रबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर खनालसमक्ष शर्माले शपथ ग्रहण गरेका हुन्। मन्त्रिपरिषद्को बिहीबारको निर्णयअनुसार उनलाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरिएको हो।
यसअघि सर्वोच्च अदालतले ओझाको पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गरेर प्राधिकरणमा काम गर्न दिन आदेश दिएको थियो। अदालतको आदेशसँगै ओझा भदौ २३ गते प्राधिकरणमा हाजिर भएका थिए। तर अर्थ मन्त्रालयले हाजिर किन गरिएको भनी प्राधिकरणलाई पत्र लेख्दै आदेश कार्यान्वयन नगर्ने निर्देशन दिएको थियो।
३१ भदौमा ओझाले पुनः प्राधिकरणमा हाजिर गर्दा मन्त्रालयले असोज २ गते अर्को पत्र पठाएर ‘ओझालाई पुनर्वहाली गर्ने निर्णय नभएकाले हाजिर नगराउन’ निर्देशन दिएको थियो। सो पत्र पठाएको तीन दिनपछि मात्र सर्वोच्च अदालतको आदेश प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेको थियो।
अदालतको आदेश स्पष्ट हुँदाहुँदै पनि मन्त्रालयले त्यसलाई बेवास्ता गरेको आरोप लगाइएको छ। ओली सरकारको समयमा पदमुक्त भएका ओझाले दायर गरेको रिटमा न्यायाधीश सारंगा सुवेदीको इजलासले उनीलाई काम गर्न दिन आदेश दिएको भए पनि अर्थमन्त्री खनालले त्यसलाई कार्यान्वयन नगरेको भन्दै प्रश्न उठिरहेको छ।
यसबीचमा नयाँ नियुक्त जनकराज शर्माले शपथ लिएसँगै बीमा प्राधिकरणको नेतृत्व फेरिएको छ भने अदालतको आदेश र मन्त्रालयको कदमबीचको द्वन्द्व अझ चर्किएको छ।
