Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

१३ घण्टासम्म थुनिए नेप्सेका अध्यक्ष र सीईओ : राजीनामा गर्न दबाब

२०८२ आश्विन ८ गते
सेयर:

बैंकिङ खबर/ नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)का सञ्चालक समिति अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत १३ घण्टासम्म थुनिएका छन् । कर्मचारीले मंगलबार राति १२ बजेसम्म थुनेका थिए ।

विगत ५ वर्षदेखि अड्किएको बोनस सम्बन्धी विवाद अदालतबाट निरुपण भए पनि त्यसविरुद्ध सञ्चालक समिति गएपछि आक्रोशित बनेका नेप्सेका कर्मचारीहरुले अध्यक्ष हेमन्त बस्याल र सिईओ चूडामणि चापागाईंको राजीनामा र आफ्ना माग पूराको आवाज उठाउँदै आएका थिए ।

सो क्रममा नेप्से सञ्चालक समितिको तर्फबाट प्रतिनिधित्व गरेका अध्यक्ष बस्याल र सीईओे चापागाईं आफ्ना माग पूरा गर्न तयार नभएको भन्दै कर्मचारीहरुले कार्यकक्षमै थुनेका थिए ।

बिहान ११ बजेदेखि अध्यक्ष र सीईओलाई थुनेका उनीहरुले मध्यरातसम्म पनि ताला खोलिदिएका थिएनन् । कर्मचारीबाट थुनिएका अध्यक्ष र सीईओले जिउज्यानको सुरक्षा माग्दै प्रशासनलाई खबर गरेपछि राति एसपीको नेतृत्वमा प्रहरी टोली नेप्सेमा परिचालन भएको थियो । प्रहरी नै पुगेपछि कर्मचारीहरु केही हच्किएका थिए ।

सो क्रममा पुनः अध्यक्ष र सीईओसँग छलफल भएको थियो । छलफलका क्रममा अध्यक्ष र सीईओसँग कर्मचारीहरुको माग पूरा गराउने विषयमा सकारात्मक सहमति भएको कर्मचारीहरुको दाबी छ । सहमति मौखिक मात्र भएको र त्यसकै आधारमा बस्याल र चापागाईंको कार्यकक्षमा लगाएको ताला राति १२ बजे खोलिएको उनीहरुको भनाई छ ।