जेनजी आन्दोलनपछि २० अर्बभन्दा बढीको बिमा दाबी

बैंकिङ खबर/ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा परेका निजी व्यवसायहरूले धमाधम बिमा दाबी गर्न थालेका छन्। नेपाल बिमा प्राधिकरणका अनुसार भदौ ३१ गतेसम्म १८ वटा निर्जीवन बिमा कम्पनीहरूमा २० अर्ब ७० करोड बराबरको १ हजार ९८४ वटा बिमा दाबी दर्ता भएका छन्।

सबैभन्दा धेरै दाबी दि ओरियन्टल इन्स्योरेन्समा परेको छ। भाटभटेनी सुपरस्टोरलाई सबैभन्दा ठूलो क्षति पुगेकाले यसको बिमा रहेको ओरियन्टलमा मात्र ५ अर्ब ४१ करोड बराबरको ४० वटा दाबी परेको प्राधिकरणले जनाएको छ।

दोस्रो स्थानमा सिद्धार्थ प्रिमियर रहेको छ, जसमा ४ अर्ब ९३ करोड बराबरको २५८ वटा दाबी दर्ता भएका छन्। यस्तै, शिखर इन्स्योरेन्समा २ अर्ब ३९ करोड बराबरको ३६६ वटा दाबी परेको छ।

त्यस्तै, आईजीआई प्रुडेन्सियल, सगरमाथा लुम्बिनी, हिमालयन एभरेष्ट र नेको इन्स्योरेन्समा पनि १ अर्बभन्दा बढीको दाबी परेको छ। बाँकी ११ वटा बिमा कम्पनीमा भने अर्बभन्दा कम दाबी परेको प्राधिकरणले जनाएको छ।

जेनजी प्रदर्शनका क्रममा सरकारी कार्यालय र संरचनामा समेत ठूलो क्षति पुगे पनि ती कार्यालयहरूको बिमा नभएकाले दाबी निजी क्षेत्रबाट मात्रै आएको हो। प्राधिकरणका अनुसार क्षतिको विवरण अझै संकलन भइरहेकाले आगामी दिनमा बिमा दाबीको मात्रा अझ बढ्ने अनुमान गरिएको छ।