असोज २ गतेबाट सेयर बजार पूर्ण रुपमै खुल्ले : बजारमा उछाल आउने अपेक्षा

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सेयर बजारमा कारोबार सुचारु गर्ने निर्णय गरेबमोजिम असोज २ गतेबाट सेयर बजार खुल्ला हुने भएको छ । सेबोनको मंगलबार बिहान बसेको सञ्चालक समितिको बैठकले सेयर बजार खोल्ने निर्णय गरेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड (नेप्से) ले सोही अनुसार कार्य अघि बढाएको छ । असोज १ गतेबाट खुल्ने भनिएको बजार १ गते सार्वजनिक विदा दिइएका कारण २ गतेबाट बजार खोलिने भएको हो । सेयर बजार यसअघिकै समय अनुसार पूर्णरुपमा खुल्ने छ । आंशिक कारोबार मात्र गर्ने वा सर्किट ब्रेकर सम्बन्धी नियममा केही परिवर्तन गरेर सुरक्षित ढंगले बजार सुचारु गर्ने भन्ने बारेमा छलफल भएको तर पूर्ण रुपमै बजार खोल्ने सहमति भएको जनाइएको छ । जेनजी आन्दोलनपछि बन्द रहेको सेयर बजारमा नयाँ सरकार गठन तथा अर्थमन्त्रीमा रामेश्वर खनाल आएपछि उछाल आउने अपेक्षा गरिएको छ ।