बैंकिङ खबर/ मुलुकमा लोडसेडिङ अन्त्य गरेर ‘उज्यालो नायक’को उपाधि पाउन सफल कुलमान घिसिङ फेरि जिम्मेवारीको नयाँ शिखरमा पुगेका छन् । जेनजी आन्दोलनपश्चात बनेको अन्तरिम सरकारले उनलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको जिम्मेवारी थिएको हो । यससँगै घिसिङले अब ऊर्जा मात्र होइन, देशको सम्पूर्ण पूर्वाधार क्षेत्रलाई पुनर्निर्माण र सुधार गर्ने ठूलो दायित्व पाएका छन् ।
लोडसेडिङ अन्त्यदेखि मन्त्रीसम्मको यात्रा
कुलमान घिसिङको नाम नेपालमा विद्युत् आपूर्ति संकट अन्त्यसँगै जोडिएको छ । विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक रहँदा उनले दैनिक १८ घण्टासम्मको लोडसेडिङ अन्त्य गरी जनतालाई उज्यालो नेपाल उपहार दिएका थिए । तर, डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउने क्रममा उद्योगीहरूसँग विवाद बढ्दा र तत्कालीन सरकारसँग असहमति भएपछि उनलाई पदबाट हटाइएको थियो ।
अहिले उनी पुनः सोही विषयसँग जोडिएको मन्त्रालयमा मन्त्री बनेका छन् । मन्त्री बनेपछि उनले पहिलो निर्णय नै डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउने गरेका छन् । प्राधिकरणका अनुसार हालसम्म २८ उद्योगबाट करिब सात अर्ब रुपैयाँ बक्यौता रहेको छ । घिसिङले यसलाई प्राथमिकतामा राख्दै अघि बढाएका छन् ।
डेडिकेटेड फिडर र ट्रंकलाइनको विद्युत् महसुल विवाद समाधानका लागि तत्कालीन सरकारले सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा आयोग गठन गरेको थियो । आयोगको प्रतिवेदन कार्यान्वयनबारे अझै मतैक्य बन्न सकेको छैन । उद्योगीहरू टिओडी मिटरका आधारमा भुक्तानी गर्न तयार भए पनि प्राधिकरणले सोही आधारमा बिल दिन नसक्दा विवाद अझै बाँकी छ । यही कारण घिसिङलाई अहिले पनि ठूलो चुनौती रहन गइरहेको छ ।
रोचक कुरा के छ भने, घिसिङलाई हटाएर प्राधिकरणको प्रबन्ध निर्देशक बनाइएका हितेन्द्रदेव शाक्य अहिले सोही मन्त्रालयमा उनको मातहतमा काम गर्नुपर्ने भएको छ । यसले प्राधिकरणभित्रको कार्यसम्पादनमा नयाँ परिस्थिति सिर्जना गरेको छ ।
पुनर्निर्माणको चुनौती
जेनजी आन्दोलनले सरकारी भवन, सवारीसाधन, सार्वजनिक सम्पत्ति लगायतमा ठूलो क्षति पुर्याएको छ । एक हजारभन्दा बढी सवारीसाधन जलेर नष्ट भएका छन् भने सयौं सरकारी कार्यालयमा आगजनी र तोडफोड भएको छ ।
यस्तो अवस्थामा घिसिङलाई पुनर्निर्माणको नेतृत्व लिनुपर्नेछ । उनले पदभार ग्रहण गर्दै भने, “अहिले मेरो उद्देश्य भत्किएको छ, त्यसलाई मर्मत गर्ने, जे जलेको छ, त्यसलाई पुनर्निर्माण गर्ने ।” उनले पुनर्निर्माणलाई आफ्नो पहिलो प्राथमिकता बनाएका छन् ।
घिसिङका पाँच प्रमुख कार्ययोजना
पदभार ग्रहण गर्दै उनले तत्काल पाँच प्राथमिकता घोषणा गरेका छन्
१. सार्वजनिक संरचनामा पुगेको क्षति यकिन गरी तत्काल पुनर्निर्माण सुरु गर्ने ।
२. ‘हाम्रा सार्वजनिक संरचना हामी आफैं बनाउँछौँ’ भन्ने अभियानमार्फत देश–विदेशका नेपालीलाई पुनर्निर्माणमा सहभागी गराउने ।
३. मन्त्रालय र निकायभित्रको भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीमा शून्य सहनशीलता नीति लागू गर्ने ।
४. ‘उपयुक्त व्यक्तिलाई उपयुक्त जिम्मेवारी नीति लागू गरी इमानदारीपूर्वक काम नगर्ने अधिकारीलाई तत्काल हटाउने ।
५. चालू ठूला पूर्वाधार आयोजनाहरूलाई तीव्रता दिँदै गुणस्तरीय र समयमा सम्पन्न गर्ने ।
उज्यालो नेपाल अभियान पुनः
घिसिङले आफ्नो पुरानो ‘उज्यालो नेपाल अभियान’लाई अझ विस्तारित रूप दिने बताएका छन् । उनका अनुसार, ‘उज्यालो नेपाल केवल बत्ती बाल्ने मात्र अभियान होइन, सुशासन, चुस्त सार्वजनिक सेवा, सामाजिक न्याय र आर्थिक समृद्धिको मार्ग हो ।’ उनले यस अभियानलाई जीवनमार्ग ठहर गर्दै युवापुस्ताको भविष्य उज्यालो बनाउने र समृद्ध नेपाल निर्माणमा योगदान दिने संकल्प गरेका छन् ।
घिसिङको जेनजी पुस्तासँगको सम्बन्ध
जेनजी आन्दोलनले मुलुकमा ठूलो राजनीतिक परिवर्तन ल्याएको छ । युवापुस्ताले भ्रष्टाचारविरुद्ध सडकमा प्रतिरोध गर्दै देशभित्रै उज्ज्वल भविष्य निर्माण गर्न सकिने सन्देश दिएको छ । घिसिङले यस आन्दोलनमा सहभागी सबैप्रति आभार व्यक्त गर्दै उनीहरूको त्यागलाई सार्थक बनाउन आफू पूर्ण समर्पित हुने बताएका छन् ।
उनले भनेका छन्,‘न्यायको लडाइँ विद्यालय, अस्पताल, सार्वजनिक सम्पत्ति जलाएर जितिँदैन । यी सम्पत्ति सबै नेपालीका हुन्, विशेषगरी गरिब र युवाका । विध्वंस होइन, निर्माण हाम्रो अभियान हो ।’
अन्तर्राष्ट्रिय सहयोग र अपनत्व
घिसिङले पुनर्निर्माण अभियानमा देश–विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सहभागी गराउने घोषणा गरेका छन् । यसबाट पुनर्निर्माणमा पारदर्शिता बढ्ने र अपनत्व महसुस हुने उनको विश्वास छ ।
चुनावी सरकार र समयसीमा
अन्तरिम सरकार छ महिनाको लागि मात्र बनेको हो । यस्तो अवस्थामा घिसिङलाई छोटो समयमा ठोस परिणाम देखाउनुपर्नेछ । पुनर्निर्माण अघि बढाउनु, सार्वजनिक सेवा सुचारु गर्नु र आगामी चुनावका लागि आवश्यक पूर्वाधार तयार गर्नु उनका लागि ठूलो चुनौती हो । तर उनले भनेका छन्, ‘हामीसँग समय छोटो छ, तर एक सेकेन्ड पनि खेर नफाली मुलुकको हितका लागि काम गरिनेछ ।’
घिसिङले मुलुकलाई अँध्यारोबाट उज्यालोतर्फ ल्याउने इतिहास रचेका थिए । अहिले उनलाई फेरि अर्को अँध्यारो–भौतिक विनाश, अव्यवस्था र मनोबल खस्किएको वातावरण–बाट मुलुकलाई बाहिर निकाल्ने जिम्मेवारी दिइएको छ । जेनजी पुस्ताको विश्वास, जनताको भरोसा र आफ्नो अडानलाई आधार बनाएर उनले यो जिम्मेवारी पुरा गर्ने संकल्प गरेका छन् ।
‘उज्यालो नेपाल’ अभियान अब केवल विद्युत् क्षेत्रसम्म सीमित छैन, यो सुशासन, समृद्धि र पुनर्निर्माणको राष्ट्रिय अभियान बनेको छ । घिसिङको काँधमा भारी जिम्मेवारी छ, तर उनका विगतका सफलताले जनतालाई अझै पनि उज्यालो भविष्यको आशा दिलाइरहेको छ ।