२०८२ भाद्र २९ गते

रामेश्वर खनाललाई अर्थमन्त्री बनाउने तयारी

बैंकिङ खबर/ प्रधानमन्त्री सुशीला कार्कीले पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थमन्त्री बनाउने तयारी गरेकी छिन्। कर प्रणाली सुधार, नक्कली भ्याट काण्ड उजागर, वित्तीय अनुशासन र पारदर्शितामा योगदान पुर्‍याएका खनाललाई योग्य व्यक्तिका रूपमा नागरिक समाजले समेत समर्थन गरेको छ। उनको अनुभवले अर्थतन्त्रलाई सही बाटोमा लैजाने अपेक्षा गरिएको छ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा.स्वर्णिम वाग्लेले आफ्नो पार्टीका कोही पनि जिम्मेवार नेता मन्त्री बन्ने दौडमा नरहेको प्रष्ट पारेका छन् उनले भावि अर्थमन्त्रीमा डा. खनाललाई समर्थन गर्ने बताए । प्रधानमन्त्री  कार्कीले विज्ञ अर्थमन्त्रीको खोजी गरिरहेका बेला वाग्लेले आफ्नो धारणा प्रष्ट्याएका हुन् । उनी स्वयम् पनि एक अर्थशास्त्री भएकाले कतिपयले सम्भावित अर्थमन्त्रीका रुपमा हेरेका थिए । तर, वाग्लेको स्टाटसले उनी र रास्वपाका कोही पनि सिनियर नेता मन्त्री नबन्ने प्रष्ट भएको छ ।

फेसबुकमा वाग्लेले लेखेका छन्, ‘कृपया अफवाह नफैलाउनुहोला, राष्ट्रिय स्वतन्त्र पार्टीका कोही पनि जिम्मेवार नेता मन्त्रीको दौडमा छैनन्। आजको विकराल आर्थिक अवस्था सम्हाल्न मेरो समर्थन प्रिय अग्रज एवं मित्र, पूर्व अर्थसचिव रामेश्वर खनाललाई हुनेछ।’