
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले भदौ २३ र २४ गतेको जेनजी आन्दोलन तथा त्यस क्रममा पुगेको क्षतिबारे बैंकर्स र व्यवसायीका प्रतिनिधिसँग छलफल गरेका छन्। आन्दोलनका कारण आर्थिक क्षेत्रमा परेको असर र ध्वस्त भएका गतिविधि पुनःसुचारु गर्ने उपायबारे राय–सुझाव लिन उनले छुट्टाछुट्टै बैठक गरेका हुन्।
राष्ट्र बैंकका अनुसार गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थासम्बद्ध संघ–संस्था र उद्योगी–व्यवसायीका प्रतिनिधिसँग पछिल्लो परिस्थितिले पारेको असरबारे गहन छलफल गरेका छन्। सहभागीहरूले प्रदर्शनका क्रममा भएको क्षतिको पुनःसंरचना र पुनर्निर्माण गर्दै आर्थिक गतिविधि सुचारु गर्नुपर्नेमा जोड दिएका थिए।
‘गभर्नर पौडेलले क्षति भएका संरचना, उद्योग र व्यवसायको पुनःस्थापना तथा सञ्चालनका लागि राष्ट्र बैंकले के कस्तो नीतिगत सहजीकरण गर्न सक्छ भन्नेबारे राय मागेका छन्,’ सहभागीहरूले बताए।
नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार छलफलमा आन्दोलनका कारण ऋण प्रभावित भएका उद्योगी व्यवसायी र ऋणीलाई कसरी सहजीकरण गर्न सकिन्छ भन्ने विषयमा विशेष चर्चा भएको थियो। उनका अनुसार गभर्नरले ऋण भुक्तानी गर्न नसक्ने अवस्थाका लागि आवश्यक नीतिगत व्यवस्थाबारे सुझाव मागेका छन्।

छलफलमा नेपाल बैंकर्स संघका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला, बैंकर्स संघका उपाध्यक्ष तथा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मी, डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष सुयोग श्रेष्ठ, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे, गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव उपाध्यायलगायत सहभागी थिए।
यस्तै, उद्योगी–व्यवसायीहरूसँगको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेस कुमार अग्रवाल, नेपाल उद्योग परिसंघका अध्यक्ष बिरेन्द्र पाण्डे, उद्योग परिसंघका पूर्वअध्यक्ष सतिस मोर, चेम्बरका वरिष्ठ उपाध्यक्ष दिपक मलहोत्रा तथा व्यवसायी प्रवलजंग पाण्डेसहितका प्रतिनिधिहरू सहभागी थिए।



