
बैंकिङ खबर/ बैंकहरू २ बजेसम्म खुल्ने भएका छन् । नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्यु आदेश जारी गरेकै समयमा नेपाल बैंकर्स संघले बिहान १० बजेदेखि २ बजेसम्म बैंकका शाखा खोल्ने निर्णय गरेको हो ।
नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अघिकृत (सीईओ) अनिल शर्माका अनुसार काठमाडौंमा ३ वटा, ललितपुर र भक्तपुरमा २/२ वटा शाखा कार्यालय खुला गरेर सेवा दिने निर्णय गरेको हो । उपत्यका बाहिर भने प्रशासनसँग समन्वय गरेर सेवा दिन बैंकहरूलाई पत्राचार गरिएको छ ।
काठमाडौंमा ३ वटा, ललितपुर र भक्तपुरमा २/२ वटा शाखा कार्यालय खुला गरेर सेवा दिन भनिएको छ । यस्तै, नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरूलाई डिजिटल कारोबारमा जोड दिन निर्देशन दिएको छ ।
भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने बैंक तथा वित्तीय संस्थाले व्यावसायिक निरन्तरतालाई मध्यनजर गर्दै सीमित कर्मचारीबाट आफ्नो संवेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी सेवा सुचारू गर्न निर्देशन दिएको हो ।
साथै, अन्य प्रणालीको हकमा जोखिमको आधारमा रिमोट एक्सेसमार्फत सञ्चालन गर्ने व्यवस्था मिलाउन र सञ्चालनमा आएका शाखा, एटीएम र उपलब्ध सेवा सम्बन्धी सूचना आफ्नो वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई जानकारी गराउनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।