२०८२ भाद्र २५ गते

जेनजी आन्दोलनः शीर्ष नेताहरूको सम्पत्ति राज्यको नाममा गर्न दबाब

बैंकिङ खबर/ भदौ २३ गतेदेखि सुरु भएको जेनजी पुस्ताको आन्दोलन मंगलबार झन् उग्र बन्दै गएको छ । सुरुवातमै शान्तिपूर्ण देखिएको यो आन्दोलन देशका शीर्ष नेताहरूको घर जलाउनेदेखि सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमणसम्म पुगेको छ । आन्दोलनकारीहरूले अब केवल राजनीतिक सुधार वा भ्रष्टाचारविरोधी नारा मात्र होइन, शीर्ष नेताहरूका सम्पूर्ण सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने कडा माग अघि सारेका छन् ।

नेताहरूको घरदेखि बैंकसम्म आक्रमण

आन्दोलनको सुरुवाती चरणमै राजधानी काठमाडौं, ललितपुर, भक्तपुर र मधेश प्रदेशका प्रमुख शहरहरूमा आन्दोलनकारीले सार्वजनिक सम्पत्ति जलाएका थिए। तर मंगलबार प्रदर्शन झन् आक्रामक बन्दा उनीहरूले शीर्ष नेताहरूको घरलाई प्राथमिक निसाना बनाए।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा प्रदर्शनकारी घुसेर तोडफोड गरेका छन् । यस्तै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलमाथि समेत आन्दोलनकारीले हातपात गरे । अन्य नेताहरूको निवास र कार्यालयहरूमा पनि आन्दोलनकारीको आक्रमण भएको बताइएको छ ।

आन्दोलनकारीले राष्ट्रिय वाणिज्य बैंकसहितका ठूला वित्तीय संस्थामा पनि तोडफोड गरेका छन् । उनीहरुले राष्ट्रिय वाणिज्य बैंक बानेश्वर शाखामा तोडफोड भएको छ । प्रदर्शनकारीहरू बैंक तोडफोड गर्दैभित्र प्रवेश गरेका थिए । शाखा कार्यालयमा कोही कर्मचारी नरहेको समेत बताइएको छ । प्रदर्शनकारीले सोमबार पनि बैंकको शाखा तोडफोड गरेका थिए ।

शीर्ष नेताहरूको सम्पत्ति राज्यको नाममा गर्न माग

आन्दोलनकारीहरूले मंगलबार जारी गरेको विज्ञप्तिमा सबै दलका शीर्ष नेताहरूको सम्पत्ति राज्यको नाममा गर्न माग गरेका छन्। उनीहरूको भनाइमा, विगत तीन पुस्तादेखि नेताहरूले भ्रष्टाचार र कमिसनमार्फत सम्पत्ति जोड्दै आएको छ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पनि यही मागलाई समर्थन गर्दै कारागारबाट रिहा भएलगत्तै एक वक्तव्य जारी गरेका छन्।

लामिछानेले भनेका छन्,‘यस देशका लुटेराहरूले सजाय पाउने क्रम सुरु भएको छ। यिनीहरूको निजी सम्पत्ति यिनीहरूको होइन, यो त तीन पुस्तालाई लुटेर जोडिएको सम्पत्ति हो। बाँकी सम्पत्ति पनि पूर्ण रूपमा राष्ट्रियकरण गरिनुपर्छ ।’ उनले नेताहरूका सम्पत्तिलाई राज्यको नाममा ल्याउनु मात्र होइन, उनीहरूलाई कानुनी दायरामा ल्याउन जरुरी रहेको जोड दिए ।

यस्तै सामाजिक सञ्जालमा पनि शीर्ष नेताहरूका बैंक खाता बन्द गरी सम्पत्ति राज्यको नाममा गर्न दबाब सिर्जना गरिरहेका छन् । सामाजिक सञ्जालमा विवेक तिवारी लेख्छन्,‘अब समय आएको छ, जनताको पैसा जनताकै हातमा फर्किनु पर्छ ।’

उनले लेखेका छन् :-

हामीले वर्षौंसम्म भोगेको अन्याय, भ्रष्टाचार, अनि नेताहरूको विलासी जीवन सबैको उत्तरदायित्व माग्ने बेला यही हो।
-देश कंगाल, जनता बेरोजगार, अस्पतालमा औषधि छैन, तर नेताहरूका छोराछोरी विदेशमा महँगा गाडी चढिरहेका छन्?
 -देश विकास होइन, ऋणको दलदलमा गइरहेको छ, तर नेताहरूको सम्पत्ति हरेक वर्ष दोब्बर?
-अब चुप लाग्ने होइन आवाज उठाउने बेला हो।

हामी सबै एक भएर माग गरौं

-शीर्ष नेताहरूका बैंक खाता तुरुन्त बन्द गरियोस्!

– सम्पूर्ण अवैध सम्पत्ति राज्यको नाममा गरियोस्!

– भ्रष्टाचारमा संलग्न जो–कोहीलाई कानुनी कारबाही गरियोस्!

हामी जनता हौं, हाम्रो शक्ति कमजोर छैन!

सामाजिक सञ्जालबाटै सुरु गरौं, जनताको अभियान बनाऔं।