माधव निर्दोष, बैंकिङ खबर / आन्दोलनको निशानामा बैंकवित्त पर्न सक्ने ठुलो खतरा देखिएको छ । तथापी मंगलबार राती दश बजेबाट सुरक्षाको जिम्मेवारी नेपाली सेनाले लिएको घोषणा गरेको छ । आन्दोलनकारीको भिडले बैंक आक्रमण गरीहाले भने सुरक्षा कर्मीले बल प्रयोग गर्ने या नगर्ने भन्नेबारे मंगलबार सम्म सुरक्षाकर्मीहरु दोधारमा छन् । अहिलेसम्म सुरक्षा निकायलाई केन्द्रीय बैंकले यसबारेमा कुनै व्रिफिङ गरेको छैन । तथापी केन्द्रीय बैंक आसपासमा सुरक्षाकर्मी बाक्लो खटाइएको छ । यस अघि नै नयाँ बोश्वर स्थित राष्ट्रिय बाणिज्य बैंकमाथि तोडफोड भएको छ । यो घटनालाई सकेसम्म लुकाउने काम भएको पाइएको छ । सो घटनामा के कति क्षति भयो भन्नेबारे सूचना दिइएको छैन । सो बैंकमा तोडफोड भएको भने राष्ट्रिय बाणिज्य बैंकले पृष्टि गरेको छ ।
पछिल्लो समय आन्दोलनले उग्र रुप लिँदै तोडफोड र लुटपाटतर्फ छिरेको छ । क्षतिको विषयमा सरकारी संरचनाको कुनै दायरै छैन । आन्दोलनले भाटभटेनी सुपर मार्मेट, सीजी टावर, गोल्छा निवास, चौधरी निवास, चन्द्रागिरि हिल, होटल हिलटन लगायतमा ठुलो क्षती भएको छ ।
बैंक तथा वित्तीय संस्था अर्थतन्त्रको सम्बाहक क्षेत्र हो । पैसाको ढुकुटी संहाल्नेदेखि आर्थिक तथा मौद्रिक नीति तर्जुमा गर्ने काम केन्द्रीय बैंकको हो । जेनजीको आन्दोलनमा घुसपैठ भयो या भएन त्यसको रिपोर्ट पछि आउला । आन्दोलनको खास उदेश्य पनि विस्तारै खुल्दै जाला ।
राजनीतिक दलको नेतृत्व र विशेष गरेर सरकारको नेतृत्व गर्ने व्यक्तिहरु भ्रष्ट्राचारको आहलमा ढुव्नु, आम नागरिकको जनजीवनसँग खेलवाड गर्नु, देशको अर्थतन्त्रमा ध्यान दिन नसक्नु, सरकारलाई आफ्नै नीजि कम्पनी जसरी संचालन गर्नु या देश र जनतालाई हानी हुनेगरी काम गर्नु जस्ता कार्यले आम नागरिक चरम असन्तुष्ठ भएको कुरा यस आन्दोलनले देखाएको छ । हरेक दिन हजारौंको संख्यामा नागरिक विदेशीनु कहालीलाग्दो विडम्बना हो । त्यसैका खातिर जेनजी आन्दोलनले युग परिवर्तन हुनेगरी पाठ पढाएको छ । यस आन्दोलनबाट सरकार मात्रै आउट भएको छैन एउटा व्यबस्थाकै अन्त्य भएको छ ।
तथापी यस आन्दोलनले आर्थिक रुपमा पारेको असरलाई विश्लेषण गर्न जरुरी छ । आन्दोलनले नीजि क्षेत्रको सम्पत्तिमाथि पनि आगजनि गरीरहेको छ । यसलाई सकारात्मक मान्न सकिँदैन ।
आन्दोलनका समयमा केन्द्रीय बैंकले दिनुपर्ने दायित्व अरु निकायको भन्दा फरक हुन्छ । यस तर्फ नेपाल राष्ट्र बैंकले दरीलो सुरक्षा रणनीति बनाउन आबश्यक छ । यसै पनि नेपालमा बैंक वित्तको महत्व नेपाली नागरिकले भर्खर बुझ्दै गरेको अबस्था छ । देशमा लगानीको वातावरण नहुँदा, स्थायीत्व वित्तीय नीति नहुँदा र परिवर्तन भइरहने सरकारको नीतिले गर्दा अधिकाँस लगानीकर्ताहरु हच्कीएका छन् । आन्दोलनले न कुनै ठाउँ भन्छ न कुनै विधि र नीति । त्यसमाथि आन्दोलनका समयमा घुसपैठ हुने तत्व सबैभन्दा धेरै हानीकारक हुन्छ । यस आन्दोलनमा पनि त्यस्ता कार्य धेरै भएका छन् । यसअर्थ नेपाली बैंकवित्तलाई आक्रमणको नीशानाबाट जोगाउन र हाल चलीरहेको आन्दोलनबाट बचाँउन केन्द्रीय बैंक, सुरक्षा निकाय र सरोकारवालाको बेलैमा ध्यान जान जरुरी छ ।
