Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

जेनजी आन्दोलन : कर्फ्यु लागेसँगै बैंक तथा वित्तीय संस्थाका शाखा बन्द

२०८२ भाद्र २४ गते

बैंकिङ खबर/ जेनजी आन्दोलनलाई मत्थर पार्न काठमाडौं प्रशासनले चक्रपथभित्र कर्फ्यु  आदेश जारी गरेसँगै बैंक तथा वित्तीय संस्थाका शाखा पनि बन्द भएका छन् ।

काठमाडौं उपत्यकासहित बाहिरी जिल्लाहरुका शाखा पनि बन्द भएका छन् । राष्ट्र बैंकसँग समन्वय गरेर काठमाडौंसहित कर्फ्यु  लागेका देशभरका विभिन्न स्थानमा रहेका बैंक शाखा बन्द गरिएको नेपाल बैंकर्स संघ अध्यक्ष सन्तोष कोइरालाले जानकारी दिएका छन्।

कफ्र्यु नलागेका क्षेत्रमा भने ग्राहकलाई असुविधा नहोस् भनेर बैंक तथा वित्तीय संस्थाबीच आपसी समन्वयमा सीमित समयका लागि शाखा सञ्चालन गरिएको छ । अत्यावश्यक सेवा निरन्तर दिन सकियोस् भन्ने उद्देश्यले शाखा खोल्ने निर्णय गरिएको संघले जनाएको छ ।

यसैबीच नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले हालको परिस्थितिलाई ध्यानमा राखेर मंगलबारको शेयर कारोबार स्थगन गरेको छ। नेप्सेले एक सूचना जारी गर्दै शेयर कारोबार स्थगन गरिएको जानकारी गराएको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं जिल्लाको चक्रपथभित्र कर्फ्यु आदेश जारी गरेको र धेरै कारोबार सदस्य (ब्रोकर) तथा लगानीकर्ताबाट समेत कारोबार स्थगन गर्न अनुरोध भएकोले कारोबार स्थगन गरिएको सूचनामा उल्लेख छ।

नेप्सेले सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१)अनुसार आजको सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको जनाएको छ।