
बैंकिङ खबर/एभरेष्ट बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुदेश खालिङलाई पुनः नियुक्त गरेको छ। बैंक सञ्चालक समितिले आगामी चार वर्षका लागि खालिङलाई दोस्रो कार्यकालका लागि निरन्तरता दिने निर्णय गरेको हो।
खालिङ एभरेष्ट बैंकका पहिलो नेपाली सीईओ हुन्। यसअघि बैंकको नेतृत्व भारतको पञ्जाब नेशनल बैंकका प्रतिनिधि भारतीय नागरिकहरूले गर्दै आएका थिए। साढे दुई दशकपछि पहिलोपटक बैंकले नेपालीलाई सीईओमा जिम्मेवारी दिएको हो।
साढे तीन दशकभन्दा बढी बैंकिङ अनुभव बोकेका खालिङ यसअघि लक्ष्मी बैंकमा दुई कार्यकाल सीईओको रूपमा काम गरिसकेका छन्। त्यस्तै, उनले सिटिजन्स बैंकमा सञ्चालकको भूमिका निर्वाह गरेका थिए।
उनको नेतृत्वमा एभरेष्ट बैंकले उल्लेख्य प्रगति गरेको छ। सम्पत्तिको गुणस्तर बिग्रँदै जाँदा अन्य बैंकहरू समस्यामा परेका बेला पनि एभरेष्ट बैंक स्थिर रहन सफल भएको छ। एभरेष्ट बैंकमा भारतको पञ्जाब नेशनल बैंकको २० प्रतिशत हिस्सेदारी रहेको छ।



