नेप्सेको अध्यक्षमा हेमन्त बस्याल नियुक्त

बैंकिङ खबर/ नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अध्यक्षमा हेमन्त बस्याल नियुक्त भएका छन्। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई अध्यक्ष पदमा नियुक्त गरेका हुन्।

बस्याललाई तीन वर्षका लागि नेप्सेको अध्यक्ष नियुक्त गरिएको छ। यसअघि उनी एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा कार्यरत थिए। केही दिनअघि मात्रै उनले सो पदबाट राजीनामा दिएका थिए।

नेप्सेको अध्यक्ष शोभाकान्त पौडेल सहसचिवबाट सचिवमा बढुवा भएपछि अध्यक्ष पद रिक्त बनेको थियो। त्यसपछि नयाँ अध्यक्ष चयनको प्रक्रिया सुरु गरिएको थियो।

पूर्व सीईओका रूपमा बस्याललाई पूँजी बजार र लगानी सम्बन्धी अनुभवसमेत छ। नेप्से अध्यक्षको जिम्मेवारी पाएपछि उनले पूँजी बजार सुदृढीकरण र लगानीकर्ताको विश्वास अभिवृद्धिमा योगदान गर्ने अपेक्षा गरिएको छ।