
बैंकिङ खबर/नेपाल बीमा प्राधिकरणले बीमकको विदेशी मुद्रा सटही सिफारिस सम्बन्धी निर्देशन, २०८२ जारी गरेको छ। यस निर्देशनअनुसार बीमकले रेट्रोसेशन, विदेशी पुनर्बीमा, आयात सेवा वा परामर्श सेवाका लागि भुक्तानी गर्नुपर्ने विदेशी मुद्रा सटही प्राधिकरणको सिफारिस लिएर मात्र गर्न सक्ने व्यवस्था गरिएको छ।
बीमा ऐन, २०७९ को दफा १६६ अन्तर्गत जारी गरिएको यो निर्देशिका अनुसार बीमकले विदेशी लगानीकर्ता वा विदेशी सेवाप्रदायकलाई भुक्तानी गर्दा नेपाल राष्ट्र बैंकको नियम र विदेशी विनिमय व्यवस्थापन निर्देशिका पनि पालना गर्नुपर्नेछ।
निर्देशनअनुसार सिफारिस माग गर्दा बीमकले जोखिमको बाँकी हिस्सा, पुनर्बीमा शुल्क, कर, सेवा शुल्क, कमिसन कट्टा गरी खुद रकम पेस गर्नुपर्नेछ। साथै, रेटिङ्ग प्राप्त पुनर्बीमा वा रेट्रोसेशनका लागि मात्र प्राधिकरणले सिफारिस दिने व्यवस्था गरिएको छ।
बीमकका प्रमुख कार्यकारी अधिकृतको हस्ताक्षर अनिवार्य हुने र पेस गरिएका कागजात तथा स्वीकृति पत्र कम्तीमा ५ वर्षसम्म सुरक्षित राख्नुपर्ने व्यवस्था पनि निर्देशिकामा समावेश गरिएको छ। यस निर्देशिकाले बीमकको विदेशी मुद्रा सटही प्रक्रिया पारदर्शी र व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।