Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

‘बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२’ जारी : सेयरबजारमा गर्ने लगानीको सीमा बढ्यो

admin २०८२ भाद्र १८ गते
सेयर:

 

बैंकिङ खबर/ नेपाल बीमा प्राधिकरणले ‘बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२’ जारी गरेको छ। जीवन, निर्जीवन, लघु तथा पुनर्बीमा कम्पनीहरूको वित्तीय स्रोतको लगानी व्यवस्थापनलाई व्यवस्थित गर्ने उद्देश्यले भदौ १७ गते प्राधिकरणले उक्त निर्देशिका स्वीकृत गरी जारी गरेको हो।

नयाँ निर्देशिका अनुसार जीवन बीमा र लघुजीवन बीमा कम्पनीहरूले आफ्ना पोर्टफोलियोको जीवन बीमा कोष, प्रिमियम तथा अन्य आम्दानीबाट प्राप्त रकमको लगानी र सम्पत्ति अलग–अलग रूपमा व्यवस्थापन गर्नुपर्नेछ। त्यस्तै, पोर्टफोलियो तथा शेयरधनी कोषबाट भएका सम्पत्ति खरिद र लगानीको लेखांकन पनि अलग–अलग राख्नुपर्ने प्रावधान गरिएको छ।

बीमा कम्पनीहरूले नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था र पूर्वाधार विकास बैंकमा मुद्दति निक्षेपमा गर्ने लगानी प्राधिकरणको नाममा एअरमार्क गर्नुपर्ने व्यवस्था गरिएको छ।

लगानी दायरामा वृद्धि

निर्देशिका अनुसार बीमा कम्पनीहरूले नेपाल सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्रमा कुल लगानीको ३५ प्रतिशतसम्म लगानी गर्न सक्नेछन्। यसअघि यो सीमा २५ प्रतिशत थियो। त्यस्तै, ‘क’ वर्गका बैंक तथा पूर्वाधार विकास बैंकमा ३० प्रतिशत, ‘ख’ वर्गका बैंक तथा विकास बैंकमा १५ प्रतिशत र ‘ग’ वर्गका वित्तीय संस्थामा ७ प्रतिशतसम्म लगानी गर्न सकिनेछ।

धितोपत्र बजारमा लगानी दायरामा पनि परिवर्तन गरिएको छ। अब बीमा कम्पनीहरूले सूचीकृत कम्पनीहरूको साधारण शेयरमा कुल लगानीको १५ प्रतिशतसम्म लगानी गर्न पाउने छन्। यसअघि यो सीमा १० प्रतिशत मात्र थियो। तर, कुनै पनि कम्पनीमा उक्त कम्पनीको चुक्ता पुँजीको १५ प्रतिशतभन्दा बढी लगानी गर्न नपाइने व्यवस्था गरिएको छ।

अन्य व्यवस्था

निर्देशिकामा बीमा कम्पनीहरूले नागरिक लगानी कोष तथा म्युचुअल फण्डमा अधिकतम ५ प्रतिशत र घर–जग्गा व्यवसायमा कुल लगानीको १० प्रतिशतसम्म लगानी गर्न सक्ने प्रावधान गरिएको छ।

बीमा प्राधिकरणका अनुसार यो निर्देशिका जारी गरेसँगै बीमा कम्पनीहरूको लगानीको दायरा विस्तार हुनुका साथै वित्तीय क्षेत्रमा पारदर्शिता र जोखिम व्यवस्थापनलाई सुदृढ बनाउने लक्ष्य लिएको छ।

68b6f216d77df_1756819990
ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।