बैंकवित्तले कर्मचारी बोनसमा छुट्याए ११ अर्बः मक्ख कर्मचारी

बैंकिङ खबर/ गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारी बोनसमा उल्लेख्य वृद्धि गरेका छन्। अघिल्लो वर्षको तुलनामा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले बोनसका लागि छुट्याएको रकम बढेको देखिन्छ।

आर्थिक वर्ष २०७८/७९ मा बैंकहरूले ११ अर्ब ७६ करोड ५६ लाख रुपैयाँ बोनस वितरण गरेका थिए। त्यसपछिका वर्षमा घट्दै २०८०/८१ मा झरेर ९ अर्बमा पुगेको बोनस गत आर्थिक वर्षमा पुनः बढेर ११ अर्बभन्दा माथि पुगेको हो।

वाणिज्य बैंकहरूले मात्रै गत आर्थिक वर्षमा १० अर्ब ६१ करोड १४ लाख रुपैयाँ बोनसका लागि छुट्याएका छन्। अघिल्लो वर्ष ८ अर्ब २१ करोड ९० लाख रुपैयाँ बाँडेका वाणिज्य बैंकले यसपटक करिब २ अर्ब ४० करोड रुपैयाँले बढी बोनस छुट्याएका हुन्।

विकास बैंकहरूले ९६ करोड रुपैयाँ बोनस छुट्याएका छन् भने फाइनान्स कम्पनीहरूले १८ करोड रुपैयाँ छुट्याएका छन्। अघिल्लो आर्थिक वर्षमा विकास बैंकले करिब ८७ करोड र फाइनान्स कम्पनीले १० करोड रुपैयाँ वितरण गरेका थिए।

कुन बैंक कति बोनस ?

कर्मचारी बोनस छुट्याउनेमा नबिल बैंक अग्रणी देखिएको छ। नबिल बैंकले मात्रै १ अर्ब १४ करोड ९५ लाख रुपैयाँ छुट्याएको छ। त्यसपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ६ करोड ७८ लाख, ग्लोबल आईएमई बैंकले करिब ९८ करोड र एभरेष्ट बैंकले करिब ८३ करोड रुपैयाँ छुट्याएका छन्।

विकास बैंकतर्फ मुक्तिनाथ विकास बैंकले करिब २५ करोड रुपैयाँ बोनस छुट्याउँदा गरिमा विकास बैंकले २१ लाख रुपैयाँ छुट्याएको छ।

फाइनान्स कम्पनीतर्फ आईसीएफसीले करिब साढे ५ करोड र मञ्जुश्री फाइनान्सले ५ करोड रुपैयाँभन्दा बढी बोनस छुट्याएका छन्।