Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

आइपीओ बेच्न कम्पनीहरु तछाडमछाड : ७६ कम्पनीले बेच्दैछन् आइपीओ !

२०८२ भाद्र ११ गते
सेयर:

बैंकिङ खबर/ नेपालको पूँजी बजार यतिबेला तातिरहेको छ । लगानीकर्ताको आकर्षण बढिरहेको बेला कम्पनीहरू पनि प्राथमिक सार्वजनिक निष्काशन(आइपीओ) निष्काशन गर्न तछाडमछाड गरिरहेका छन् ।

हालै मात्र आइपिओ निष्कासन गरेको स्वस्तिक लघुवित्त वित्तीय संस्थाको आवेदनलाई उदारहणका रुपमा लिन सकिन्छ । कम्पनीको आइपिओमा २३ लाख २५ हजारले आवेदन दिएका छन् । संस्थाले १ लाख ९५ हजार १९५ कित्ता शेयर जारी गरेकोमा २ करोड ७२ लाख कित्ताका लागि आवेदन परेको हो ।

यस्तै बुधबार(भदौ११)बाटै बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडको आइपीओ खुलेको छ । कम्पनीले ४३ लाख ४१ हजार ८० कित्ता सेयर सर्वसाधारणका लागि खुलाएको हो । केयर रेटिङ नेपालबाट कम्पनीले बीबी रेटिङ पाएको छ । जसले दायित्व वहनमा कम्पनीलाई मध्यमस्तरको संकेत गर्दछ । ब्याजसहित केबुलकार आयोजनाको कुल लागत ३ अर्ब ८५ करोड छ । गत चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ ४१ पैसा छ । त्यस्तै प्रतिसेयर आम्दानी २ रुपैयाँ ८४ पैसा ऋणात्मक छ भने सञ्चित नोक्सानी १० करोड ६ लाख रुपैयाँ छ ।

यस्तै बुधबारबाट नै श्रीनगर एग्रीटेक इन्डस्ट्रिजले पहिलो चरणको आइपीओ निष्कासन गरेको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ ल्याउन ल्याएको हो । नेपाल धितोपत्र बोर्डबाट कम्पनीले जारी पुँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात ३२ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको आइपीओ ल्याउन अनुमति पाएको छ । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३२ लाख ६२ हजार ५०० कित्ता शेयर निष्कासन गरेको हो । कम्पनीले कुखुराको चल्ला र अण्डा उत्पादन गर्दै आएको छ ।

त्यस्तै, कुखुराको लागि सुनौलो प्लेट दाना, माछा र बंगुरलाई आवश्यक पर्ने दाना पनि उत्पादन गर्दै आएको छ। कम्पनीले कृषकलाई कृषि सम्बन्धी प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ भने किसानले उत्पादन गरेका सामग्रीहरु खरिद गरेर बजारसम्म पुयाउँदै पनि आएको छ । कम्पनीको ठूला शेयरधनीमा सतिश चन्द श्रेष्ठ, चन्द्र पंकज डेभलपर्स प्रालि र मौसमी श्रेष्ठ रहेका छन् । रेटीङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई उच्च जोखिम संकेत गर्ने रेटिङ प्रदान गरेको छ ।

यस्तै बुङ्गल हाइड्रो लिमिटेडले प्राथमिक सेयर (आइपीओ) भदौ १६ देखि ल्याउँदैछ । आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारमा रहेकालाई यसअघि आईपीओ बाँडफाँट भइसकेको छ । आम सर्वसाधारणका लागि १७ लाख १ हजार ५ सय कित्ता आइपीओ खुल्नेछ । कम्पनीले जारी पूँजी ८३ करोडको ३५ प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो ।

गत चैत मसान्तसम्म कम्पनी नोक्सानीमा छ । आयोजना नै सञ्चालन भइनसकेकाले सञ्चित नोक्सानी ४ करोड १५ लाख रुपैयाँ छ । त्यस्तै प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७२ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ १६ पैसा छ । कम्पनीले बझाङमा १०.७० मेगावाट क्षमताको माथिल्लो सानिगाड जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

प्रतिमेगावाट लागत २८ करोड २५ लाख रुपैयाँ बराबर छ । अनुमति बहाल रहने अवधि २६ वर्ष १० महिना रहेको छ । केयर रेटिङबाट कम्पनीले बी रेटिङ पाएको छ । यी त हालै आइपिओ ल्याउँदै गरेका र ल्याउन लागेका कम्पनीका केही उदाहरण मात्रै हुन् । तर पछिल्लो समय धेरै कम्पनीहरु आइपिओ ल्याउने तरखरमा छन् ।

७६ कम्पनीले बेच्दैछन् आइपीओ

नेपाल धितोपत्र बोर्डका अनुसार ७६ कम्पनीले साढे ५४ अर्ब रुपैयाँ बराबरको प्राथमिक सार्वजनिक निष्काशन (आइपीओ) का लागि स्वीकृति मागेका छन् । एक विकास बैंक, चार होटल तथा पर्यटन, ३७ जलविद्युत्, ४ लगानी, १७ उत्पादन तथा प्रशोधन, ३ माइक्रो इन्स्योरेन्स र १० अन्य समूहका कम्पनीले ५४ अर्ब ६७ करोड ६४ लाख ४२ हजार ६ सय ६१ रुपैयाँबराबरको ३७ करोड ९७ लाख ५२ हजार ८ सय ८३ कित्ता आइपीओ निष्काशन गर्न लागेका हुन् ।

बोर्डका अनुसार उक्त आइपीओ पाइपलाइनमा रहेका छन् । यसअनुसार वाणिज्य बैंक समूहबाट कुनै पनि आइपीओ पाइपलाइनमा छैन भने विकास बैंक समूहबाट सालपा विकास बैंक लिमिटेडले १७ करोड २३ लाख ८८ हजार रुपैयाँबराबरको १७ लाख २३ हजार ८ सय ८० कित्ता आईपीओ जारी गर्न बोर्डको अनुमति कुरिरहेको छ । कम्पनीले गत वैशाख २३ मा बोर्डमा आवेदन दिएको थियो। बोर्डले असार ६ मा कम्पनीलाई प्रतिक्रिया दिएकोमा कम्पनीले असार २९ मा त्यसको जवाफ पठाइसकेको बोर्डले जनाएको छ ।
यसैगरी फाइनान्स समूहबाट पनि कुनै पनि आइपीओ पाइपलाइनमा छैन ।

होटल तथा पर्यटबाट भने चारवटा कम्पनीको आइपीओ पाइपलाइनमा रहेको बोर्डले जनाएको छ । यसअनुसार होटल फरेस्ट इनको ४० करोड बराबरको ४० लाख कित्ता, अकामा होटलको साढे २२ करोडको २२ लाख ५० हजार कित्ता, वर्णवास म्युजियम होटलको ३९ करोड ६० लाखबराबरको ३९ लाख ६० हजार कित्ता र माउन्टेन ग्लोरी लिमिटेडको ४० करोडबराबरको ४० लाख कित्ता आइपीओ पाइपलाइनमा रहेको छ । यो समूहको कुल १ अर्ब ४२ करोड १० लाख रुपैयाँबराबरको १ करोड ४२ लाख १० हजार कित्ता आइपीओ स्वीकृतिको पर्खाइमा देखिएको हो ।

यसबाहेक जलविद्युत् समूहबाट ३७ वटा कम्पनीले आइपीओ स्वीकृति पर्खिरहेका छन् । बोर्डकाअनुसार यी कम्पनीको १८ अर्ब २६ करोड १ लाख ४० हजार २ सय ३६ रुपैयाँबराबरको १७ करोड ८५ लाख २८ हजार ७ सय ५४ कित्ता आइपीओ रहेका छन्। आइपीओ जारी गर्न खोज्नेमा भुजुङ हाइड्रोपावर, याम्बलिङ हाइड्रोपावर, सोलु हाइड्रोपावर, टक्सार पिखुवा खोलालगायत छन्। यी कम्पनीहरुको आइपीओ स्वीकृतिका लागि बोर्डले आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।

लगानी समूहबाट ३ अर्ब १४ करोड १० लाख ३७ हजार ५ सय रुपैयाँबराबरको १ करोड ८६ लाख ५० हजार ३ सय ७५ कित्ता आइपीओ पाइपलाइनमा रहेको बोर्डले जनाएको छ । वरुण इन्भेस्टमेन्ट, सिड इनर्जी, शिवम् होल्डिंग्स र शिवशंकर हाइड्रो इन्भेस्टमेन्टले उक्त परिमाणको आइपीओ निष्काशन गर्न खोजेका छन्।

जीवन बीमा समूहको कुनै पनि आइपीओ पाइपलाइनमा नरहँदा उत्पादन र प्रशोधन समूहका १७ कम्पनीको आइपीओ देखिएको छ। यसअनुसार यी कम्पनीले २७ अर्ब ५६ करोड ८१ लाख ७१ हजार ५ सय २५ रुपैयाँबराबरको १३ करोड २२ लाख २४ हजार ८ सय २० कित्ता आइपीओ जारी गर्न खोजेका छन्। यीमध्ये केहीले प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्न चाहेको देखिएको छ ।

त्यसैगरी माइक्रो इन्स्योरेन्स समूहमा तीन कम्पनीले आइपीओ ल्याउन चाहेका छन् । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो इन्स्योरेन्सको ६७ करोड ५० लाख रुपैयाँ बराबरको ५७ लाख ५० हजार कित्ता पाइपलाइनमा रहेको बोर्डले जनाएको छ ।

निर्जीवन समूहबाट भने पाइपलाइनमा आइपीओ नरहेको बोर्डले उल्लेख गरेको छ । अन्य समूहका १० कम्पनीले पनि आइपीओ स्वीकृतिका लागि कुरिरहेको देखिएको छ ।

बोर्डका अनुसार डिश मिडिया नेटवर्क, आईएमई लिमिटेड, हस्पिटल फर एडभान्स्ड मेडिसिन एन्ड सर्जरी लिमिटेड (ह्याम्स हस्पिटल), नेपाल ब्रोडकास्टिङ च्यानल लिमिटेड, कैलाश हेलिकप्टर सर्भिसेज, छायादेवी कम्प्लेक्स, बिजनेस इन्टरेस्ट ग्रुप अफ इन्डस्ट्रिज, मेडिकेयर अस्पताल, जीआई सोलार र सोलार फार्म लिमिटेडको आइपीओ पाइपलाइनमा रहेको छन् । यी १० कम्पनीले ३ अर्ब ४३ करोड ८७ लाख ५ हजार ४ सय रुपैयाँबराबरको २ करोड ७६ लाख ६५ हजार ५४ कित्ता आइपीओ ल्याउन लागेका हुन् ।

ipo_pipeline

‘प्री–आइपीओ’ को नाममा अवैध शेयर बिक्री

यता ‘प्री–आइपीओ’ को नाममा अवैध शेयर बिक्री हुन थालेपछि नेपाल धितोपत्र बोर्डले सचेत गराएको छ । बोर्डले ‘प्री–आइपीओ’ को नाममा भइरहेको अवैध शेयर बिक्री वितरण तथा रकम संकलनको कार्य तत्काल रोक्न निर्देशन दिएको हो ।

बोर्डले यस्तो कार्य प्रचलित कानुन विपरीत र दण्डनीय भएकोले त्यसमा संलग्न नहुन लगानीकर्ता तथा सम्बन्धित सबैलाई सचेत गराएको छ । बोर्डले सार्वजनिक निष्कासनको प्रक्रियामा नगएका विभिन्न कम्पनीहरूले निकट भविष्यमा सर्वसाधारणका लागि सेयर जारी गर्ने (आइपीओ आउने) भन्दै भ्रम छरेर लगानीकर्तालाई आकर्षित गरिरहेको पाइएको बताएको छ ।

सामाजिक सञ्जालका विभिन्न माध्यमहरु व्हाट्सएप, भाइबर, फेसबुक ग्रुप, इमेल तथा एसएमएस मार्फत ‘प्री–आईपीओ’ भन्दै सेयर खरिदका लागि प्रस्ताव गरी अनाधिकृत रूपमा रकम संकलन भइरहेको गुनासो बोर्डमा प्राप्त भएको बोर्डले बताएको छ ।

यस विषयमा ध्यानाकर्षण भएको जनाउँदै बोर्डले प्रचलित धितोपत्र सम्बन्धी कानुनमा ‘प्री–आइपीओ’ भन्ने कुनै व्यवस्था नै नरहेको स्पष्ट पारेको छ ।

‘धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २९ को उपदफा (१) अनुसार, कुनै पनि संगठित संस्थाले एकै पटकमा ५० जनाभन्दा बढी व्यक्तिलाई धितोपत्र बिक्री गर्दा अनिवार्य रूपमा सार्वजनिक निष्कासन गर्नुपर्ने कानुनी प्रावधान रहेको छ । बोर्डबाट अनुमति नलिई सार्वजनिक रुपमा कुनै पनि संस्थाको सेयर खरिद–बिक्री सम्बन्धी कार्य नगर्न र नगराउन होला । गैरकानुनी क्रियाकलापमा संलग्न भएमा कारबाही हुने छ । बोर्डले सम्पूर्ण सर्वसाधारण लगानीकर्तालाई यस्ता प्रलोभनमा नपर्न र अवैध कारोबारमा सहभागी नहुन अनुरोध गरेको छ’, बोर्डले निकालेको सूचनामा उल्लेख छ ।

 डिम्याट खाता संख्या साढे ६८ लाख नाघ्यो

सेयर बजारको दायरा निरन्तर बढ्दै गएपछि डिम्याट खाता खोल्नेहरु पनि बढिरहेको विवरण नेपाल धितोपत्र बोर्डले प्रकाशित गरेको छ।

बोर्डका अनुसार गत आर्थिक वर्ष २०८१/८२ को असार २० सम्म डिम्याट खाता खोल्नेको संख्या ६८ लाख ६५ हजार पुगेको छ। आर्थिक वर्ष २०७९/८० अन्त्यसम्म ५८ लाख २३ हजार रहेको डिम्याट खाताको संख्या आर्थिक वर्ष २०८०/८१ अन्त्यसम्म ६२ लाख ७२ हजार ३५१ पुगेको थियो।

त्यसैगरी गत आर्थिक वर्ष २०८१/८२ असार २० सम्म यो संख्या ५९ लाख ३३ हजार ७ सय बढी पुगेको छ। आर्थिक वर्ष २०७९/८० अन्त्यसम्म ४७ लाख ४१ हजार ५५ रहेको मेरो सेयर खाताको संख्या आर्थिक वर्ष २०८०/८१ अन्त्यसम्म ५३ लाख २२ हजार ९ सय ६९ पुगेको थियो।

धितोपत्रको दोस्रो बजारमा अनलाइन कारोबार गर्ने लगानीकर्ताको संख्या पनि उल्लेख्य मात्रामा बढेको छ। आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्म १७ लाख ६३ हजार ३०१ रहेको अनलाइन प्रयोगकर्ताको संख्या आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म २२ लाख १६ हजार २४७ पुगेको थियो। गत आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म यो संख्या २६ लाख ३३ हजार ५१० पुगेको छ।

सेयर लगानीकर्ताले जान्नै पर्ने  टिप्सहरु

-धितोपत्र बजारमा समय समयमा उतारचढाव आउन सक्ने भएकोले धितोपत्रमा लगानी गर्दा यथार्थ र उपयुक्त सूचना लिई संयमित तथा विवेकशील भई लगानी सम्बन्धी निर्णय लिनुहोस् ।

-धितोपत्रमा गरिने लगानीमा प्रतिफल तथा जोखिम दुवै हुने हुँदा हल्ला, अनावश्यक प्रचार प्रसार वा कसैको बहकाउमा नपरी बजार तथा कम्पनीको वित्तीय विवरण लगायतका जानकारी लिई आफ्नो स्वविवेकमा जोखिम बहन गर्ने क्षमता अनुसार लगानी उपकरण छनौट गरी लगानी सम्बन्धी निर्णय गर्नुहोस् ।

-धितोपत्र बजारमा नवप्रवेशीले प्राथमिक बजारबाट लगानी प्रारम्भ गर्नुहोस ।

-प्राथमिक बजारमा लगानी गर्दा धितोपत्र निष्काशनकर्ता कम्पनीको आव्हानपत्र, विवरणपत्र अध्ययन गरी कम्पनीको संस्थापक तथा व्यवस्थापन पक्ष, वित्तीय स्थिति र क्रेडिट रेटिङ्गस्तर जस्ता महत्वपूर्ण पक्षहरुको विश्लेषण गर्नुहोस् ।

-नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि संगठित संस्थाले प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा निष्काशित सेयरको दश प्रतिशत सेयर विदेशमा रोजगारी गरिरहेको नेपालीका लागि छुटयाई बाँडफाँट गर्नुपर्ने व्यवस्था २०७९ मंसिर १७ देखि लागू भई कार्यान्वयमा आईसकेको सन्र्दभमा श्रम स्वीकृति लिई विदेशमा काम गरिरहेका नेपालीहरूले आस्वा सदस्य बैंकमार्फत आफ्नो नाममा विप्रेषण बचत खाता खोली सिआरएन नं लिई गरिएको व्यवस्थाको परिपालना गरी सेयरमा आवेदन गर्नुहोस ।

-धितोपत्रको दोस्रो बजारमा लगानी गर्दा सूचीकृत कम्पनीले आधिकारीक वा प्रमाणित रुपमा जारी गरेको कार्य सम्पादन स्थिति, धितोपत्रको मूल्यमा प्रभाव पार्न सक्ने संवेदनशील सूचना जस्तै लाभांश घोषणा, हकप्रद सेयरको घोषणा, व्यवस्थापनमा परिवर्तन, भावी योजनाहरु, कम्पनीको आवधिक र वार्षिक प्रतिवेदनमा उल्लेखित वित्तीय सूचकांकहरु, धितोपत्रको मूल्य प्रवृत्ति, कम्पनीको साधारण सभाको निर्णय (माइन्यूट) र कम्पनीसंग सम्बन्धित उद्योग र क्षेत्रको अवस्था आदि जस्ता महत्वपूर्ण पक्षहरुको अध्ययन गर्नुहोस् ।

-धितोपत्र बजारमा देशको समग्र आर्थिक तथा राजनितिक स्थितिको प्रत्यक्ष प्रभाव पर्ने भएकाले धितोपत्रमा लगानी गर्दा यसप्रति समेत सजग रहनुहोस् ।

-धितोपत्र बजारमा मुद्रास्फिति, बैंकको तरलता तथा व्याजदरले प्रत्यक्ष असर गर्ने हुनाले लगानी गर्दा यस्ता विषयलाई मनन् गरी लगानी सम्बन्धी निर्णय लिनुहोस् ।

-धितोपत्रको लगानीमा हुने जोखिमलाई न्यूनीकरण गर्न लगानी विविधिकरणमा ध्यान दिनुहोस् । दीर्घकालीन, नियमित तथा विविधीकृत लगानीका फाइदा सम्बन्धमा जानकार रहनुहोस ।

-धितोपत्र बजारमा लगानी गर्दा आवश्यक वा अपेक्षित प्रतिफल दर निर्धारण गरेर गर्नुहोस ।

-धितोपत्रको दोस्रो बजारमा कारोबार गर्दा कारोबार भएको दिनको दुई दिन भित्रमा कारोबारको राफसाफ हुनुपर्ने कुराको जानकारी लिनुहोस् ।

-धितोपत्र बजार सम्बन्धमा सामाजिक सञ्जाल (जस्तै: फेसबुक, क्लब हाउस, युटयूब तथा टिकटक आदि) मार्फत प्रकाशन तथा प्रसारण गरिने अनुमान तथा प्रक्षेपण आधिकारीक नहुने भएकोले ती अनुमान, प्रक्षेपण, विचार र परामर्शको आधारमा मात्र लगानी सम्बन्धी निर्णय नलिनुहोस् ।

-नयाँ नयाँ प्रविधि प्रयोग गरी हुने कारोबार सम्बन्धमा सचेत रहनुहोस् ।

-धितोपत्र कारोवार गर्दा रकमको लेनदेन गर्दा बैंकमार्फत गर्नुहोस धितोपत्र कारोबार वापत धितोपत्र दलालले लिने शुल्क सम्बन्धमा रहेको कानुनी व्यवस्थाको जानकारी लिनुहोस् ।

-आफुले लगानी गर्न लागेको सेयर कुन प्रकारको सेयर ९जस्तै संस्थापक सेयर साधारण सेयर अग्राधिकार सेयर र त्यसको विशेषता फाइदा वा वेफाइदाको बारेमा जानकारी लिएर मात्र लगानी सम्बन्धी निर्णय लिनुहोस् ।

-नेपाल स्टक एक्सचेञ्जबाट सूचिकरण खारेजी भएका तथा सूचीकृत नभएका पब्लिक लिमिटेड कम्पनीहरुको धितोपत्रहरु ओभर द काउन्टर बजारबाट कारोवार गर्न सकिने व्यवस्था भएको हुंदा सो बारे जानकारी राख्नुहोस् ।

-धितोपत्रको दोश्रो बजारमा कारोबार गर्दा बोर्डबाट अनुमतिपत्र प्राप्त र नेप्सेको सदस्यता लिएको धितोपत्र दलाल व्यवसायी (स्टक ब्रोकर) मार्फत मात्र कारोबार गर्नुहोस् ।

-धितोपत्र बजार, वित्त बजार, बीमा बजार तथा सम्बन्धित नीति, नियम तथा निर्देशनहरु सम्बन्धी आधिकारीक जानकारीका लागि बोर्ड, नेप्से, नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय तथा बीमा समितिको वेबसाइट हेर्ने गर्नुहोस् ।

-धितोपत्रमा लगानी सम्बन्धी कुनै जिज्ञासा वा गुनासाहरु भए सम्बन्धित धितोपत्र व्यवसायी, निष्काशनकर्ता तथा सूचीकृत कम्पनी सिडिएससी, नेप्से या बोर्डमा सम्पर्क राख्नुहोस् ।

-बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नियमित रुपमा प्रशिक्षण तथा सचेतनामूलक कार्यक्रम तथा प्रकाशन मार्फत संचालन गर्दै आएकोमा त्यस्तो कार्यक्रममा सक्रिय सहभागी भै बजार तथा लगानी सम्बन्धी आवश्यक ज्ञान हासिल गर्नुहोस् ।