२०८२ भाद्र ११ गते

ठमेलको एउटा चर्चित होटल बैंकको ऋण तिर्न नसक्दा लिलामीको घेराबन्दीमा

बैंकिङ खबर/ नेपालमा पछिल्लो समय होटल व्यवसाय गम्भीर संकटमा परेको पाइएको छ । हालै मात्र काठमाडौंको ठमेलको एउटा चर्चित होटल बैंकको ऋण तिर्न नसक्दा लिलामीको घेराबन्दीमा परेको छ ।

पर्यटकीय क्षेत्र ठमेलको चाक्सीवारीमा १० वर्ष अगाडि भव्य रूपमा उद्घाटन गरिएको होटल आट्र्स काठमाडौं राष्ट्रिय वाणिज्य बैंकको ४८ करोड रुपैयाँ नतिरेपछि लिलामीमा गएको हो ।

गोरखाका पर्यटन व्यवसायी चिरन्जीवी भट्टले २०७२ साल फागुनदेखि सञ्चालनमा ल्याएको ६० कोठाको उक्त होटलले बैंकको ऋण तिर्न नसकेपछि लिलामीको प्रक्रिया अघि बढेको हो । बैंकले न्यूनतम ४८ करोड १७ लाख रुपैयाँ ऋण असुलीका लागि होटल लिलामी गर्न सार्वजनिक सूचना जारी गरेको छ ।

होटल सञ्चालनको सुरुवातमै करिब ५० करोड रुपैयाँ लगानी भएको थियो । ८ तले सो होटलबाट काठमाडौंको दृश्यावलोकन गर्न सकिन्थ्यो भने आकर्षक सुविधा पनि समावेश गरिएको थियो ।

भट्टले आफैंले २०६० सालमै किनेको जग्गामा होटल निर्माण गरेका थिए तर ऋण तिर्न नसक्दा लिलामीमा पुगेको हो । पर्यटन क्षेत्रमा ३४ वर्षदेखि सक्रिय भट्टको योजनाले असफलता भोगेपछि होटल बिक्री प्रक्रियामा पुगेको हो ।

बैंकले भट्टको नाममा डिल्लीबजार मालपोत कार्यालयमा दर्ता भएको १५ रोपनी जग्गा र सोमा बनेको भवन लिलामी गर्ने तयारी गरेको छ । साथै, भट्टकी श्रीमती लक्ष्मीको नाममा रहेको एक रोपनी जग्गा र त्यसमा बनेको भवन तथा उपकरण पनि लिलामी हुने उल्लेख बैंकको सार्वजनिक सूचनामा गरिएको छ ।

बैंकले जग्गाको न्यूनतम मूल्य ४८ करोड १७ लाख १३ हजार ९ सय रुपैयाँ तोकेको छ । भट्टले लिएको ओभरड्राफ्ट, १० प्रतिशत ब्याजदरमा पाएको कोभिड कर्जा तथा आवधिक कर्जा समयमै नतिरेपछि बैंकले धितो सम्पत्ति लिलामीमार्फत ऋण असुल गर्ने प्रयास गरेको हो । बैंकले पटक–पटक लिखित र मौखिक ताकेता गर्दा पनि कर्जा चुक्ता नभएपछि ३५ दिनको सूचना प्रकाशित गरेको थियो । तर सो अवधिमा समेत ऋण नतिरेपछि होटल लिलामी प्रक्रिया अघि बढाइएको हो ।

बैंकले भट्टलाई १५ दिनभित्र सम्पर्क गरी सम्पूर्ण साँवा तथा अघिल्लो दिनसम्मको ब्याज र अन्य दस्तुर तिरेर धितो सम्पत्ति फुकुवा गराउन आग्रह गरेको छ ।

तर, तोकिएको समयमै कर्जा चुक्ता नभए सम्पत्ति लिलामीमार्फत बिक्री गर्ने र बिक्री हुन नसकेमा बैंकले आफैं सकार गर्ने वा असुली न्यायाधिकरणमा मुद्दा दायर गर्ने चेतावनी दिएको छ ।

पछिल्लो समय आट्र्स काठमाडौं होटल मात्र होइन, देशका विभिन्न पर्यटकीय क्षेत्रमा रहेका होटलहरू बैंकको ऋण तिर्न नसक्दा लिलामीको घेराबन्दीमा परेका छन् ।

महामारीपश्चात नेपालमा होटल तथा पर्यटन व्यवसाय सुस्ताएको व्यवसायीहरूले बताउँदै आएका छन् । कोभिड–१९ का कारण लामो समय होटलहरू बन्द हुँदा राजस्व घट्यो भने त्यसपछि पनि अन्तर्राष्ट्रिय पर्यटक अपेक्षाअनुसार नफर्किँदा व्यवसाय उकासिन सकेन । त्यसको प्रभाव स्वरूप, बैंकबाट लिएको कर्जा र उच्च ब्याज तिर्न कठिन भएको व्यवसायीहरूको अनुभव छ ।

उच्च सञ्चालन खर्च, कर तथा सेवासम्बन्धी भार, र आन्तरिक पर्यटकको न्यून योगदानले पनि होटल व्यवसायीलाई थप दबाबमा पारेको छ । आट्र्स होटल मात्र होइन, पोखरा, चितवन, लुम्बिनी र काठमाडौं उपत्यकाका अन्य होटलहरूले समेत ऋण असुलीका लागि बैंकको लिलामी सूचनाको सामना गरिरहेका छन् ।