विदेशी मुद्रा डलर ५,००० सम्म घोषणा विना नेपालमा ल्याउन पाइने

बैंकिङ खबर/ अब विदेशी नागरिकले ५ हजारसम्म अमेरिकी डलर ल्याउन पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले जारी गरेको नयाँ सर्कुलरअनुसार एक पटकमा एक जना विदेशीले ५ हजारसम्म अमेरिकी डलर ल्याउन पाइने र त्यसभन्दा बढी ल्याए भन्सारमा स्वघोषणा गर्नुपर्नेछ।

राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन विभागलाई सर्कुलर जारी गर्दै विदेशी नागरिकले नगद विदेशी मुद्रा अमेरिकी डलर ५ हजारसम्म (भारुको हकमा अमेरिकी डलर ५,००० बराबर हुन आउने र बैंकबाट विनिमय दर प्रकाशन नहुने अन्य विदेशी मुद्राको हकमा समेत अमेरिकी डलर ५ हजार बराबर) भन्सार घोषणाबिना नेपालमा भित्र्याउन सकिने बताएको छ।

सोभन्दा बढी रकमको हकमा भने भन्सार घोषणा गरी प्रमाणित गराउनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। राष्ट्र बैंकले २०७५ असार ३२ र २०७५ चैत २६ मा प्रकाशित सूचनाबमोजिम गर्न-गराउन विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी सूचना पुनः प्रकाशित गरिएको जनाएको छ।

यस्तै, चलनचल्तीमा रहेका भारतीय रुपैयाँ ५०० र १००० दरका नोट कारोबार गर्न तथा भारु २००, ५०० र २००० दरका नोट साथमा राख्न, ओसारपसार र कारोबार गर्न नपाइने व्यवस्था रहेको बताएको छ।

नेपाली नागरिकले भारतबाहेक अन्य मुलुकमा भारु लैजान वा अन्य मुलुकबाट भारु नेपाल ल्याउन नपाउने उल्लेख गरेको छ।