
बैंकिङ खबर/ बैंकिङ सेवा प्रयोग गर्दा उत्पन्न गुनासा सम्बन्धित संस्थाले समाधान नगरे ग्राहकले अब नेपाल राष्ट्र बैंकमा गुनासा दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूमा गुनासा सुन्ने अधिकारी नियुक्त गरिएको छ भने प्रत्येक संस्थाको वेबसाइटमा गुनासा पोर्टल समेत राखिएको हुन्छ। ग्राहकले पहिलो चरणमा त्यही अधिकारीसँग सम्पर्क गर्ने वा पोर्टलमार्फत् गुनासा दर्ता गर्न सक्नेछन्।
तर, वित्तीय सेवा प्रदायकबाट गुनासा समाधानका लागि गरिएका कामकारबाहीप्रति ग्राहक चित्त बुझ्दैनन् वा समाधान नै हुँदैन भने केन्द्रीय बैंकको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासा दर्ता गर्न सकिने व्यवस्था रहेको राष्ट्र बैंकले स्पष्ट पारेको छ।
यसले बैंकिङ कारोबारमा पारदर्शिता बढाउने र ग्राहक अधिकारको संरक्षण गर्ने अपेक्षा गरिएको छ।
राष्ट्र बैंकमा यसरी गर्न सकिन्छ गुनासो दर्ता
- राष्ट्र बैंकको अनलाइन पोर्टल www.gunaso.nrb.org.np मा गुनासो दर्ता गर्न सकिन्छ ।
- राष्ट्र बैंकलाई सम्बोधन गरी लिखित निवेदनमार्फत पनि गुनासो पेस गर्न सकिन्छ ।
- अन्य माध्यमहरु जस्तै इमेल, टेलिफोन तथा नेपाल राष्ट्र बैंकमा स्वयं उपस्थित भई गुनासो टिपाउन वा दर्ता गर्न सकिने व्यवस्था रहेको छ।
- लघुवित्त सेवा सम्बन्धी गुनासोलाई व्यवस्थापन गर्नको लागि माथि उल्लेखित व्यवस्थाको अतिरिक्त लघुवित्त संस्था सुपरिवेक्षण विभागमा अलग्गै गुनासो डेस्क स्थापना गरी टोल फ्री नम्बर र अलग्गै हटलाइनको व्यवस्था पनि गरिएको छ ।
बैंक तथा वित्तीय संस्थाको कामकारबाहीसम्बन्धी कुनै गुनासो भए संस्थागत माध्यमबाट समाधानका लागि समयमै पहल गर्न राष्ट्र बैंकले आग्रह गरेको छ।
