२०८२ भाद्र ९ गते

आईपीओ पूर्व सेयर बिक्री गैरकानुनी, लगानीकर्तालाई सजग रहन बोर्डको आग्रह

बैंकिङ खबर/ धितोपत्र बोर्डले सार्वजनिक निष्कासन भइनसकेका संगठित संस्थाको प्रि–आईपीओ भन्दै बिक्री गरेमा कारबाही गरिने चेतावनी दिएको छ । विभिन्न संगठित संस्थाको भविष्यमा आईपीओ आउने भन्दै पहिले नै सर्वसाधारणलाई सेयर खरिद गर्न प्रस्ताव गरिने कार्य अनाधिकृत रहेको बोर्डले जनाएको छ ।

विभिन्न प्रस्ताव गरी सर्वसाधारणबाट पैसा उठाइएको गुनासो बोर्डमा आएको जनाउँदै यस्ता कार्य रोक्न निर्देशन दिइएको छ । पछिल्लो समय वाट्सएप, भाइबर, फेसबुक पेज, इमेल तथा एसएमएसमार्फत विभिन्न कम्पनीका सेयर खरिदका लागि प्रस्ताव गर्ने गरिएको पाइन्छ ।

‘बोर्डबाट अनुमति प्राप्त नगरी सार्वजनिक रुपमा संगठित संस्थाको सेयर खरिद/बिक्री सम्बन्धी कार्य नगर्न/नगराउन सूचित गरिन्छ’ बोर्डले सार्वजनिक सूचनामार्फत भनेको छ ‘धितोपत्र सम्बन्धी ऐन २०६३ ले गरेको व्यवस्था विपरितका यस्ता कार्य दण्डनीय भएकाले यस्ता क्रियाकलापमा संलग्न नहुन सबैलाई सजग गराउँदै सम्पूर्ण लगानीकर्तालाई यस्ता कार्यमा सहभागी नहुन बोर्ड अनुरोध गर्दछ ।