Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सोंचेजस्तो नराम्रो छैन अर्थतन्त्र, सूचकहरुमा देखियो सकारात्मक संकेत

२०८२ भाद्र ८ गते

बैंकिङ खबर/ लामो समयदेखि चुनौती खेपिरहेको मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्किन थालेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ का तथ्यांक अनुसार अधिकांश सूचक सकारात्मक देखिएको छ । राष्ट्र बैंकको वार्षिक तथ्यांक अनुसार मुलुकको आर्थिक वृद्धिदर, मुद्रास्फीति, निर्यात, विप्रेषण आप्रवाह र विदेशी विनिमय सञ्चिति लगायतका सूचक अघिल्ला वर्षको तुलनामा सुधारोन्मुख देखिएका छन् । यसले नेपालकै अर्थतन्त्र सोंचेजस्तो नराम्रो अवस्थाबाट बाहिरिँदै स्थिरता र विकासतर्फ अघि बढिरहेको संकेत दिएको छ ।

आर्थिक वृद्धिदरमा सुधार

राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ मा ४.६१ प्रतिशत आर्थिक वृद्धिदर रहने अनुमान गरेको छ । अघिल्लो वर्ष योदर ३.६७ प्रतिशत मात्र थियो । अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले समेत नेपालका लागि अपेक्षाकृत ढिलो तर स्थिर सुधार हुने आँकलन गर्दै आएका थिए । यसपटकको तथ्यांकले त्यो अनुमानलाई पुष्टि गरेको छ । तथ्यांक अनुसार कृषि, सेवा र उद्योग क्षेत्र सबैमा थोरै भए पनि सुधार देखिएको छ । पर्यटन क्षेत्र पनि पुनः लयमा फर्किन थालेको छ, जसको असर कुल उत्पादनमा देखिएको हो ।

मुद्रास्फीति घट्यो

आर्थिक सुचकको अर्को महत्वपूर्ण भाग हो– मुद्रास्फीति । अघिल्लो वर्ष ५.४४ प्रतिशत रहेको वार्षिक औसत मुद्रास्फीति यसवर्ष ४.०६ प्रतिशतमा झरेको छ। मूल्यवृद्धि नियन्त्रणमा आउँदा उपभोक्तामा सहजता अनुभव भएको छ । विशेषगरी खाद्यान्न, तरकारी, इन्धन र अन्य आवश्यक वस्तुहरूमा मूल्यवृद्धि अपेक्षाकृत न्यून देखिएकोले सामान्य उपभोक्ताको दैनिकीमा पनि सकारात्मक प्रभाव परेको विश्लेषण गरिएको छ ।

शोधनान्तर र विदेशी विनिमय सञ्चिति

अर्थतन्त्रको स्वास्थ्य मापन गर्ने महत्वपूर्ण सूचक शोधनान्तर स्थितिमा पनि उल्लेखनीय सुधार भएको छ । यो वर्ष शोधनान्तर स्थिति ५ खर्ब ९४ अर्ब ५४ करोडले बचतमा छ । अघिल्लो वर्ष यो ५ खर्ब २ अर्ब ४९ करोड मात्रै थियो ।
यससँगै कुल विदेशी विनिमय सञ्चिति १९ अर्ब ५० करोड अमेरिकी डलर पुगेको छ । यो सञ्चिति १५.४ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ । विदेशी विनिमय सञ्चिति सुदृढ हुनु नेपाल जस्तो आयातमुखी अर्थतन्त्रका लागि ठूलो राहतको विषय हो ।

निर्यात र आयात

पछिल्ला वर्षहरूमा निर्यातमा निरन्तर गिरावट आएकोमा यसपटक भने उत्साहजनक सुधार भएको छ । आयात १३.३ प्रतिशतले बढ्दा निर्यात झनै ८१.८ प्रतिशतले उकालो लागेको छ । अघिल्लो वर्ष आयात १.२ प्रतिशतले घटेको र निर्यात ३ प्रतिशतले घटेको तथ्यांक थियो । निर्यातमा भएको उल्लेखनीय वृद्धि नेपालको उत्पादन र वैदेशिक बजार विस्तारमा भएको प्रयास सफलतामा परिणत हुँदै गएको संकेत हो । निर्यात बढ्नु, आयात नियन्त्रणमा रहनु र शोधनान्तर सकारात्मक हुनु दीर्घकालीन अर्थतन्त्रका लागि सुखद मानिन्छ ।

विप्रेषण आप्रवाह

नेपालको अर्थतन्त्रमा प्रमुख आधार मानिने विप्रेषण आप्रवाह यसवर्ष पनि उच्च दरमा बढेको छ । नेपाली रुपैयाँमा १९.२ प्रतिशत र अमेरिकी डलरमा १६.३ प्रतिशत वृद्धि भइ २०८२ असारसम्ममा १ खर्ब ८९ अर्ब ११ करोड रुपैयाँ पुगेको छ ।
विदेशमा रोजगारीका लागि गएका श्रमिकहरूको योगदान नेपालको विदेशी विनिमय सञ्चिति र भुक्तानी सन्तुलनमा महत्वपूर्ण रहँदै आएको छ । पछिल्लो तथ्यांकले अझै केही वर्ष नेपाल विप्रेषणमै निर्भर अर्थतन्त्र रहिरहने देखाउँछ ।

बैंकिङ क्षेत्रको अवस्था

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन १२.६ प्रतिशतले बढेर ७२ खर्ब ६४ अर्ब पुगेको छ । निजी क्षेत्रमा प्रवाहित कर्जा पनि ८.४ प्रतिशतले वृद्धि भई ५४ खर्ब ९८ अर्ब पुगेको छ । निक्षेप र कर्जामा भएको वृद्धि मुलुकको आर्थिक गतिविधि विस्तार हुँदै गएको संकेत हो । व्यवसायिक लगानी, घरजग्गा कारोबार र अन्य क्षेत्रमा क्रियाशीलता बढेको छ भने उपभोग पनि विस्तार हुँदै गएको छ ।

मुद्राप्रदाय स्थिर

राष्ट्र बैंकको तथ्यांकअनुसार मुलुकको मुद्राप्रदाय १२.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यो वृद्धि १२.९ प्रतिशत थियो । यो दर स्थिर रहनु अर्थतन्त्रमा अचानक उतारचढाव नआएको संकेत हो ।

पूँजी बजारमा पनि चमक

पुँजी बजार पनि गत वर्ष सक्रिय रह्यो। नेप्से सूचक २२४० बाट बढेर २७९४ पुगेको छ। यस अवधिमा बजार पुँजीकरण ३५ खर्ब ५३ अर्बबाट बढेर ४६ खर्ब ५६ अर्बमा पुगेको छ। सूचीकृत कम्पनीहरूको सङ्ख्या २७२ पुगेको छ, जसमा ९१ जलविद्युत् कम्पनी, १३२ बैंक तथा वित्तीय संस्था/बीमा, र अन्य विभिन्न क्षेत्रका कम्पनी सामेल छन्। यस अवधिमा ८३ अर्बभन्दा बढी मूल्यका नयाँ धितोपत्र सूचीकृत भएका छन्।

राष्ट्र बैंकले सार्वजनिक गरेको ताजा तथ्यांकले मुलुकको आर्थिक स्वास्थ्य सोचेजस्तो कमजोर नभएको देखाएको छ । आर्थिक वृद्धिदरमा सुधार, निर्यात र विप्रेषणमा उल्लेखनीय वृद्धि, शोधनान्तर स्थितिको मजबुँदी, विदेशी विनिमय सञ्चितिको पर्याप्तता, बैंकिङ क्षेत्रमा निक्षेप र कर्जा विस्तारले नेपालकै अर्थतन्त्रमा स्थिरता र विकासको सकारात्मक संकेत दिएको छ । यद्यपि दीर्घकालीन रुपमा उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने, रोजगारी सिर्जना गर्ने र निर्यातमुखी उद्योग विस्तार गर्ने चुनौती भने यथावत् रहेको अर्थशास्त्रीहरू बताउँछन् ।