२०८२ भाद्र ४ गते

डरलाग्दो सहकारी ठगीका घटनाहरु : नेतृत्वकर्ता जेलमा, धरासायी बन्दै सहकारी !

बैंकिङ खबर/  पछिल्लो समय सहकारीका निक्षेपकर्ताको रकम हिनामिनाको आरोपमा सञ्चालकदेखि पदका रहेका जिम्मेवार व्यक्तिहरु नै पक्राउ पर्ने क्रम बढ्दो छ । ग्रामीण तथा दुर्गम भेगसम्म वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले ‘गाउँ–गाउँमा सहकारी, घरघरमा भकारी’ भन्ने नाराका साथ स्थापना गरिएका सहकारीहरुले आज सर्वसाधारणको विश्वास गुमाउँदै रकम हिनामिना गर्ने गरेका छन् ।

देशका ठूला भनिएका सहकारीहरुका सञ्चालकहरुले नै रकम हिनामिना गर्ने गरेका छन् । उनीहरु लामो समयदेखि सहकारीको नेतृत्व गरेर धेरै व्यक्तिलाई पाठ पढाएका छन् । उनीहरु नै रकम हिनामिना गर्दै पक्राउ परेका छन् ।

सर्वसाधारण जनताले दैनिक आधारभूत खर्चबाट कटाएर सहकारीमा बचत गर्ने गर्दछन् । भविष्यमा आफ्नै काम आउँछ भन्ने सोचेर सहकारी संस्थालाई विश्वास गरी रकम बचत गरेका हुन्छन् । त्यही रकम लिएर सहकारीका सञ्चालक फरार भएका धेरै उदाहरणहरु छन् । जसका कारण सहकारी संस्थाहरुप्रतिको जनविश्वास झन्–झन् दिनप्रतिदिन घट्न थालेको छ ।

एकातिर सरकार जनतालाई बचत गर्ने बानीको विकास गराउन जुटेको छ, भने अर्कातिर बचत गर्न भनि स्थापना गरिएका संस्थाहरु नै जनताको विश्वाससँग खेलिरहेका छन्, जसको प्रभावकारी नियमन गर्न सरकार चुकेको छ ।

नियमन, कारबाही लगायतका व्यवस्थाको प्रभावकारी कार्यान्वयन नहुँदा निक्षेप लिएर भाग्ने, बचतको दुरुपयोग गर्ने, आफ्नो व्यक्तिगत फाइदाका ठाउँमा लगानी गर्ने जस्ता क्रियाकलाप पनि सहकारी सञ्चालकद्वारा हुने गरेको छ । यसरी दुरुपयोग भएको रकमको क्षतिपूर्ति सर्वसाधारणले पाउने ग्यारेन्टी पनि सरकारले गर्न सक्दैन । केही फरार व्यक्तिहरु समातिन्छन् भने केही कारबाहीको दायरामा नै आइपुग्दैनन् ।

केही समय अगाडि राष्ट्रिय सहकारी बैंकका अध्यक्ष समेत रहेका आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष केबी उप्रेती पक्राउ परे । उनी अहिले पनि अहिले कारागार नै छन् । ३० हजारभन्दा बढी बचतकर्ताको ८ अर्ब रुपैयाँ बचत रहेको आइडियल यमुना हाम्रो सहकारी संस्था अध्यक्ष उप्रेतीविरुद्ध बचत रकम हिनामिनाको जाहेरी परेको थियो । उप्रेतीसँगै सहकारीका अन्य सञ्चालकमाथि पनि बचतकर्ताहरूको उजुरी परेको छ । नेकपा एमालेको सहकारी तथा गरिबी निवारण विभाग सचिवसमेत रहेका उप्रेतीलाई बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेपछि पार्टीले जिम्मेवारीबाट हटाएको छ ।

को को छन् आरोपीत
लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अमरदास श्रेष्ठसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। अध्यक्ष श्रेष्ठ, सचिव एवं प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल र सञ्चालक सदस्य कदमबाबा जोशी प्रधानलाई पक्राउ गरेको हो ।

उनीहरुले सहकारीका २२ हजार बचतकर्ताको ६ अर्ब ३० करोड रकम अपचलन गरेको हुनसक्ने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको भनाई छ ।
संविधानसभा सदस्य समेत रहेका सिभिल ग्रुप अध्यक्ष इच्छाराज तामाङ सिभिल सहकारीको ५ अर्बभन्दा बढी रकम अपचलन गरेको आरोपमा थुनामा छन् । तामाङ विरुद्ध सहकारी ठगी मुद्दा चलिरहेको छ । रास्वपाका अध्यक्ष रबी लामिछाने सहकारी ठगीकै केशमा थुनामा छन् ।

बढ्दो सहकारी ठगीका घटना  साँसद र नेता नै ठगीमा 

प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार पछिल्ला तीन आर्थिक वर्षमा सहकारी ठगीका २ सय १२ मुद्दा अदालत पुगेको छ । ८० अर्बभन्दा बढी रकम बिगो दाबी भएको मुद्दामा ४ सय ११ जना पक्राउ परेका छन् । प्रहरीले सोही मुद्दामा अदालतबाट पक्राउ पुर्जी लिएका १ हजार ३ सय ९७ जना भने फरार छन् । आर्थिक सर्वेक्षण २०८१ अनुसार नेपालमा सहकारी संस्थाहरूको कुल बचत दायित्व ४ खर्ब ७८ अर्ब बराबर छ । उक्त तथ्यांक आधार मान्दा पनि प्रहरीले सहकारी ठगी अनुसन्धान गरी २ सय १२ मुद्दामा माग गरेको कुल बिगो दाबी नै सहकारी क्षेत्रको कुल कारोबारको करिब ६ प्रतिशत हुन आउँछ ।

लुम्बिनी प्रदेशमा दुई दर्जन सहकारीमा समस्या छ । बचतकर्ताले प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालय दाङमा बचत फिर्ताको पहल गरिदिन माग गर्दै उजुरी दर्ता गरेका छन् । सरकारको नियमन क्षेत्रमा रहेका १४ बहुउद्देश्यीय, ९ बचत तथा ऋण र एउटा जडीबुटी सहकारी समस्यामा रहेको लुम्बिनी प्रदेश सरकारले जनाएको छ ।

हकारी ठगीमा बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली, ठुलो घोटालामा जीवी राई सहकारी ठगीको मोटो रकमका अपचलनकर्ता हुन् । सहकारी ठगीमा राप्रपा राप्रपा सांसद गीता बस्नेत पनि मुछिएकी छन् । यस्तै कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसद माया राई पनि छन् । 

कैयौ साँसदमाथि सहकारी ठगीको आरोप छ । विभिन्न पार्टीका अरु नेता र कार्यकर्ता पनि सहकारी ठगी आरोपीत छन् ।

लमजुङको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्रबाट रकम अपचलन गरेको अभियोगमा सेवा केन्द्र प्रमुख वीरेन्द्र गुरुङ नै पुर्पक्षका लागि थुनामा छन् । मर्स्याङ्दी गाउँपालिकाको कार्यपालिका सदस्य मधुमाया बगाले पनि थुनामा छन् ।

सहकारी ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा राजविराज नगरपालिका–३ का वडा सदस्य सिद्धार्थ तातेड ६ महिना कारागार बसे । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वप्रदेश सभा सदस्य मीना गुरुङ पक्राउ परिन् । 

कैयौं व्यक्ति फरार छन् भने कैयौंलाई लुकाइएको अबस्था छ । यी घटनाहरुले सहकारी क्षेत्रमा काम गर्नेहरु सशंकित भएको आँकलन गर्न सकिन्छ । 

आतंकित सहकारीकर्मीहरु

नेतृत्वकर्ताहरु नै धमाधम सहकारी प्रकरणमा मुछिन थालेपछि सहकारीकर्मीहरु आतंकित बन्न थालेका छन् । नेतृत्व, अगुवाहरु नै सहकारी घोटलाका नाममा मुछिएपछि अन्य सहकारीकर्मीहरुमा निराशा छाएको छ । जो लामो समय सहकारीको नेतृत्व गरिरहेको छ । सहकारीको क्षेत्रमा लागेर हजारौं जनालाई पाठ पढाएको छ । जो सहकारीलाई नेतृत्व गरेको छ, त्यहि व्यक्ति नै सहकारी ठगी प्रकरणमा मुछिएपछि अन्य सहकारीकर्मीहरु अबको सहकारीको भविष्य के होला भनेर प्रश्न गरिरहेका छन् ।