२०८२ श्रावण ३१ गते

वाणिज्य बैंकहरूको लाभांश क्षमता ३८ प्रतिशतसम्म

बैंकिङ खबर/ सूचीकृत १९ वाणिज्य बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक विवरणका आधारमा सेयर लगानीकर्ताले आफ्नो लाभांश अनुमान गर्न सहज हुनेछ। विवरणअनुसार, नेपाल, कुमारी, एनआईसी एशिया र हिमालयन बैंकले यस वर्ष लाभांश दिन नसक्ने अवस्था छ। नेपाल इन्भेस्टमेन्ट मेगाको लाभांश क्षमता धनात्मक भए पनि यसले लाभांश नदिने सम्भावना उच्च छ।

औसतमा, सूचीकृत १९ वाणिज्य बैंकले ११ प्रतिशत लाभांश दिने क्षमता बनाएको देखिन्छ। ११ बैंकले दोहोरो अंकको लाभांश दिने क्षमता राखेका छन्। कर्जा अशुलीमा बैंकहरु सफल भएकाले यस वर्ष लाभांश क्षमता केही हदसम्म बढेको हो। एभरेस्ट बैंकले सबैभन्दा धेरै, ३८ प्रतिशत लाभांश दिने क्षमता बनाएको छ।

यद्यपि कतिपय बैंकको नाफा उच्च देखिए पनि वितरणयोग्य नाफा कम भएकाले लाभांश क्षमता कमजोर देखिन्छ। विशेषज्ञहरूले सेयर लगानीकर्ताका लागि बैंकको कुल नाफा भन्दा वितरणयोग्य नाफा महत्त्वपूर्ण हुने बताएका छन्।

आर्थिक वर्ष सकिएको तीन महिनाभित्र वाह्य लेखापरीक्षण गर्नु पर्ने व्यवस्था अनुसार, अप्रिलगत विवरणमा केही परिवर्तन हुन सक्ने सम्भावना छ। वास्तविक लेखापरीक्षण सकिएपछि बैंकका सञ्चालक समितिले औपचारिक बैठकमार्फत सेयरधनीलाई क्षमताका आधारमा लाभांश घोषणा गर्नेछन्।

घोषित लाभांश नगद वा बोनस सेयरका रूपमा वितरण हुनेछ। वाणिज्य बैंकहरूले पुस मसान्तभित्र साधारणसभा गरेर लाभांश पारित गर्नुपर्ने व्यवस्था छ। साधारणसभा पश्चात् मात्र लगानीकर्ताले बोनस सेयर डिम्याट खातामा र नगद लाभांश बैंक खातामा प्राप्त गर्न सक्नेछन्।

बैंकको नाम लाभांश क्षमता (%)
एभरेस्ट बैंक 38.27
सानिमा बैंक 20.47
स्ट्यान्डर्ड चार्टर्ड बैंक 19.85
कृषि विकास बैंक 18.42
नबिल बैंक 17.64
प्राइम कमर्सियल बैंक 14.33
ग्लोबल आईएमई बैंक 14.11
सिद्धार्थ बैंक 13.22
लक्ष्मी सनराइज बैंक 12.34
नेपाल एसबीआई बैंक 11.29
एनएमबी बैंक 10.4
माछापुच्छ्रे बैंक 9.23
सिटिजन्स बैंक 5.25
प्रभु बैंक 4.44
नेपाल इन्भेस्टमेन्ट मेगा 1.44
कुमारी बैंक 0
एनआईसी एशिया बैंक 0
हिमालयन बैंक 0