२०८२ श्रावण ३० गते

बैंकहरुको ब्याड लोन : १३ बैंकको बढ्दा, ७ वटाको घट्यो

बैंकिङ खबर/ सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये गत आर्थिक वर्ष २०८१–८२ मा एक दर्जनभन्दा बढी बैंकको खराब कर्जा बढेको छ । केही बैंकले खराब कर्जा नियन्त्रण गर्न सफल भए पनि धेरैको कर्जा गुणस्तरमा चुनौती थपिएको छ । अर्थतन्त्र सुस्त रहँदा बैंकिङ क्षेत्रमा खराब कर्जा बढ्ने स्थिति देखिएको छ ।

बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार १३ वाणिज्य बैंकको खराब कर्जा बढ्दा ७ वटाले मात्र घटाएका छन्। उक्त अवधिमा ५ वटाको खराब कर्जा ५ प्रतिशतभन्दा बढी, ६ वटाको ४ देखि ५ प्रतिशत, र बाँकी ९ वटाको ३ प्रतिशतभन्दा कम रहेको छ। यस क्रममा एभरेष्ट बैंकको खराब कर्जा अनुपात मात्र एक प्रतिशतभन्दा कम रहेको छ।

वाणिज्य बैंकहरुको औसत खराब कर्जा ४.२२ प्रतिशत कायम भएको छ। अघिल्लो आर्थिक वर्षमा यो औसत ३.७३ प्रतिशत थियो। समीक्षा अवधिमा ७ वटा बैंकको खराब कर्जा ०.०३ देखि ०.६९ प्रतिशत बिन्दुले घटेको छ भने १३ वटा बैंकमा ०.०२ देखि २.८३ प्रतिशत बिन्दुले वृद्धि भएको छ। खराब कर्जा बढ्नुको मुख्य कारण उच्च जोखिममा लगानी, फिर्ता नगरेको कर्जा तथा व्यावसायिक असफलता भएको बताइएको छ।

गत आर्थिक वर्षमा सबैभन्दा कम खराब कर्जा एभरेष्ट बैंकमा ०.३८ प्रतिशत, सबैभन्दा धेरै हिमालयन बैंकमा ७.२८ प्रतिशत रहेको छ। कुमारी, एनआईसी एशिया, सिटिजन्स, नबिल र लक्ष्मी सनराइज बैंकको तुलनात्मक रूपमा धेरै खराब कर्जा रहेको देखिन्छ। विशेषतः एनआईसी एशिया बैंकको खराब कर्जा अघिल्लो वर्षको ३.४५ प्रतिशतबाट गत वर्ष ६.२८ प्रतिशत पुगेको छ।

सरकारी लगानी रहेको राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले खराब कर्जा घटाएका छन्। त्यस्तै, नबिल, एभरेष्ट, चाटर्ड, लक्ष्मी सनराइज र माछापुच्छ्रे बैंकले पनि अघिल्लो वर्षको तुलनामा खराब कर्जा अनुपात कम गरेका छन्। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा गरेको सहज व्यवस्थाले बैंकको खराब कर्जा बापतको नोक्सानी व्यवस्थालाई पनि घटाएको छ। गत असारसम्म बैंकहरुले कुल २८ अर्ब ५० करोड रुपैयाँ नोक्सानी व्यवस्था राखेका छन्, जुन अघिल्लो वर्षको ५५ अर्ब ९८ करोड रुपैयाँ थियो।

यसैबीच, २० वटा वाणिज्य बैंकले गत आर्थिक वर्षमा कुल ७१ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन्, जुन अघिल्लो वर्षको तुलनामा करिब ४३ प्रतिशत बढी हो। २० वाणिज्य बैंकमध्ये १६ वटाको नाफा बढेको छ भने बाँकी ४ वटाको घटेको छ। बैंकहरुको लाभांश दिने क्षमता (वितरणयोग्य मुनाफा) २१ अर्ब ६३ करोड रुपैयाँ रहेको छ, जसका आधारमा औसतमा बैंकले १३.२९ प्रतिशत लाभांश वितरण गर्न सक्नेछन् ।

कुनको कति ?

Bank Name NPL% Ashar 2082 NPL% Ashar 2081 Change %
Himalayan Bank 7.28 4.98 2.30
Kumari Bank 6.42 5.96 0.46
NIC Asia Bank 6.28 3.45 2.83
NIMB 5.80 4.91 0.89
Prime Commercial Bank 5.56 4.60 0.96
Prabhu Bank 4.96 4.94 0.02
Citizens Bank International 4.94 4.10 0.84
Global Ime Bank 4.87 4.17 0.70
Nepal Bank 4.47 4.33 0.14
Nabil Bank 4.27 4.45 -0.18
Laxmi Sunrise Bank 4.25 4.63 -0.38
Machhapuchchhre Bank 3.83 3.86 -0.03
NMB Bank 3.72 3.40 0.32
Rastriya Banijya Bank 3.59 4.28 -0.69
Nepal SBI Bank 3.35 1.96 1.39
Krishi Bikash Bank 3.26 3.91 -0.65
Sanima Bank 3.01 1.72 1.29
Siddhartha Bank 2.62 2.17 0.45
Standard Chartered Bank 1.47 2.14 -0.67
Everest Bank 0.38 0.71 -0.33
AVERAGE 4.22 3.73 0.48