
बैंकिङ खबर/ नेप्सेले लागू गरेको अन्तिम १५ मिनेटको भारित औसत मूल्य प्रणाली हटाउन एक सक्रिय लगानीकर्ताले माग राखेका छन्। साउन ३० गते आदित्य पौड्यालले नेप्सेसमक्ष निवेदन पेश गर्दै यो व्यवस्था अवैज्ञानिक भएको र पूँजीबजारको विकास र स्थायित्वमा नकारात्मक प्रभाव परेको बताएका छन्।
पौड्यालका अनुसार, ठूला कम्पनीको शेयर मूल्यमा १५ मिनेटको औसतले ठूलो उतारचढाव ल्याउँछ जसले सम्पूर्ण इन्डेक्सको मनोविज्ञान र लगानीकर्ताको मनोबलमा असर पुर्याउँछ। यसबाहेक, साना पूँजी भएका कम्पनीहरूमा ठूलो कित्ता सेयरको मूल्य तलमाथि म्याच गर्दा बजार अस्थिर भएको पनि उनले दाबी गरेका छन्।
निवेदनपत्रमा उल्लेख छ, “भाउ त बजारले देखाउने हो, नियमले हैन। दिनभरि ३ घण्टा ४५ मिनेटको कारोबार फर्जी हो भन्ने कुरा छैन, तर अन्तिम १५ मिनेटको औसतले बजार मूल्यमा अनावश्यक प्रभाव पार्छ।” उनले प्राविधिक चार्ट र अध्ययन अनुसन्धानमा समेत असर परेको र ‘मास सेन्टिमेन्ट’ प्रभावित भएको बताएका छन्।
