
बैंकिङ खबर/नेपालमा सञ्चालित विकास बैंकहरुमध्ये मुक्तिनाथ विकास बैंकले लोभलाग्दो प्रगति गरेको छ । बैंकको वितरण योग्य मुनाफा ७.५ गुणाले वृद्धि भएको हो ।
गत आर्थिक वर्ष २०८१/८२ मा बैंकले एक अर्ब ४६ करोड रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकले यस भन्दा अघिल्लो आर्थिक वर्षमा १९ करोड ४७ लाख रुपैयाँ आर्जन गरेको थियो।
बैंकले समीक्षा अवधिमा ३० प्रतिशतले मुनाफा बढाएको छ । असार मसान्तसम्ममा बैंकले एक अर्ब ५३ करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा एक अर्ब १७ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो । बैंकको इमेरियल चार्ज घट्दा मुनाफामा राम्रो सुधार देखिएको हो । प्रतिशेयर आम्दानी २१.८२ रुपैयाँ रहेको छ ।
बैंकले कर्जा नोक्सानीमा रचनात्मक रुपमा सुधार गरेको छ । समीक्षा अवधिमा खराव कर्जा २.७५ प्रतिशत कायम राख्न सकेको छ । जुन अन्य बैंक वित्तीय संस्थाको तुलनामा राम्रो हो ।
बैंकले समीक्षा अवधिमा ६.९९ प्रतिशतले निक्षेप बढाएको छ भने कर्जा विस्तार ६.१० प्रतिशत रहेको छ। यस अवधिमा बैंकले एक खर्ब १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९७ अर्ब ५१ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ । निक्षेप संकलन तथा कर्जा परिचालन गरी समीक्षा अवधिमा ४ अर्ब ५५ करोड रुपैयाँ खुद व्याज आम्दानी आर्जन गर्न सफल भएको छ ।
चुक्ता पूँजी ७ अर्ब ४ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा तीन अर्ब ४७ करोड रुपैयाँ जम्मा भइसकेको छ । आजका दिनमा मुक्तिनाथ विकास बैंक राष्ट्रिय स्तरको वाणिज्य बैंक सरह बनाउन सफल भइसकेको छ ।
