२०८२ श्रावण ३० गते

राष्ट्रिय स्तरका विकास बैंकले आर्जन गरे ५ अर्ब ६० करोड नाफा

बैंकिङ खबर/ गत आर्थिक वर्ष २०८१/८२ मा नेपालका आठ राष्ट्रिय स्तरका विकास बैंकहरूले कुल ५ अर्ब ६० करोड ७७ लाख ७१ हजार रुपैयाँ नाफा आर्जन गरेका छन्। यो नाफा अघिल्लो वर्षको तुलनामा २२.०१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यी बैंकहरूले ४ अर्ब ५९ करोड ६२ लाख ५२ हजार रुपैयाँ नाफा कमाएका थिए।

समीक्षा अवधिमा सर्वाधिक नाफा आर्जन गर्नेमा मुक्तिनाथ विकास बैंक अघि रहेको छ। बैंकको नाफा ३०.८० प्रतिशतले बढेर १ अर्ब ५३ करोड ७४ लाख रुपैयाँ पुगेको छ, अघिल्लो वर्षमा यसको नाफा १ अर्ब १७ करोड रुपैयाँ थियो।

सर्वाधिक नाफाको दोस्रो स्थानमा रहेको गरिमा विकास बैंकले भने नाफा वृद्धिमा पहिलो स्थान हासिल गरेको छ। बैंकको नाफा २०१.९७ प्रतिशतले बढेर १ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।

यसैगरी, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा ०.४८ प्रतिशतले बढेर ६८ करोड ८६ लाख रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकको ६.५१ प्रतिशतले बढेर ५३ करोड ७० लाख रुपैयाँ, र महालक्ष्मी विकास बैंकको १.२६ प्रतिशतले बढेर ५० करोड ६६ लाख रुपैयाँ पुगेको छ।

तर, सबै बैंकको नाफा वृद्धि भने समान नभएको देखिन्छ। लुम्बिनी विकास बैंकको नाफा ३०.१३ प्रतिशतले घटेर ३७ करोड ९८ लाख रुपैयाँ र ज्योति विकास बैंकको नाफा ९२ प्रतिशतले घटेर १ करोड २३ लाख रुपैयाँमा सीमित भएको छ।

यो विवरणले राष्ट्रिय स्तरका विकास बैंकहरूको वित्तीय अवस्था र नाफा वृद्धिमा देखिएका फरक–फरक प्रवृत्तिहरू स्पष्ट पार्दछ।