Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

स्वस्तिक लघुवित्तको आइपीओको बिक्री खुला

२०८२ श्रावण ३० गते
सेयर:

बैंकिङ खबर/स्वस्तिक लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि आज (साउन ३० गते) बाट साधारण शेयर (आइपीओ) बिक्री खुला गरेको छ। यसअघि संस्थाले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आइपीओ बिक्री गरी बाँडफाँट गरिसकेको थियो।

नेपाल धितोपत्र बोर्डले स्वस्तिक लघुवित्तलाई जारी पुँजी ५ करोड ७७ लाख ५० हजार रुपैयाँको ४० प्रतिशतबराबर २ करोड ३१ लाख रुपैयाँ मूल्यका साधारण शेयर जारी गर्न अनुमति दिएको हो। पहिलो चरणमा २३ हजार १०० कित्ता (कुल निष्कासनको १० प्रतिशत) वैदेशिक रोजगारमा रहेका नेपालीका लागि बिक्री गरिएको थियो।

दोस्रो चरणमा, कुल २ लाख ३१ हजार कित्तामध्ये ०.५ प्रतिशत अर्थात् १ हजार १५५ कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ११ हजार ५५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएका छन्। बाँकी १ लाख ९५ हजार १९५ कित्ता शेयर भने सर्वसाधारणका लागि उपलब्ध गराइएका छन्।

आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्मको आवेदन दिन सक्नेछन्। आवेदन सी–आस्वा सेवा प्रदान गर्ने बैंक तथा वित्तीय संस्था र तिनका शाखाहरूमा वा सीडीएससीको ‘मेरो शेयर’ मार्फत दिन सकिनेछ।

स्वस्तिक लघुवित्तको आइपीओ निष्कासन छिटोमा भदौ ३ गते र ढिलोमा भदौ १३ गते बैंकिङ समयसम्म बन्द हुनेछ। बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेस्टमेन्ट बैंकिङले लिएको छ।